बैतडी । बुधबार बैतडी जिल्ला क्रिकेट संघको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विनोदबहादुर चन्दको अध्यक्षतामा सर्वसम्मत जिल्ला समिति गठन गरेको थियो । १५ सदस्यीय उक्त समितिमा १३ जना दशरथचन्द नगरपालिका भित्रका व्यक्ति चयन भएका छन् ।

अन्य दुई जना मात्रै अन्य स्थानीय तहका चयन भएपछि विरोध भएको हो ।उक्त समितिमा अटाएका व्यक्तिहरू नेपाली कांग्रेस पार्टीसँग आबद्ध रहेको र एकै पालीकाका अधिकांश व्यक्तिहरू समेटिएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ । यसैबीच जिल्ला खेलकुद विकास समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै क्रिकेट संघको अधिवेशन गलत नियतका साथ भएको भनी आपत्ति जनाएको छ ।

विज्ञप्तिमा वर्षौँदेखि एकै ठाउँका व्यक्तिले जिल्लाको क्रिकेटमा एकाधिकार जमाएको कुरा उल्लेख गरिएको छ । जिल्ला खेलकुद विकास समिति अध्यक्ष भण्डारीले भने,‘क्रिकेट संघमा विगतदेखि मनोमानी हुँदै आएको छ । सधैँभरी त्रिपुराकै व्यक्ति अध्यक्ष बन्ने परिपाटी कायम छ । अहिले समितिमा बसेका व्यक्तिको नाम अगाडी हरेकको ठेगानामा दनपा लेखिएको छ । सामाजिक सञ्जालमा लिस्ट आयो, हामीलाई हेर्नै लाज भयो । अध्यक्षमा सरकारी कर्मचारी चयन भएका छन् । सदस्यमा त्यही नगरपालिकाका उपमेयर र उनका श्रीमान् छन् । यो कुरालाई कम्तीमा ध्यान दिनु पर्दथ्यो ।’

बैतडीका १० स्थानीयतह मध्ये सबै पालिकामा खेलाडी र खेल प्रेमी रहेकाले उनीहरू समेत समितिमा समेटिनुपर्ने भण्डारीको भनाई छ ।खेलकुद विकास समितिको विज्ञप्ति प्रति क्रिकेट संघले भने आपत्ति जनाएको छ । क्रिकेट संघले नियम संगत ढंगबाट नै अधिवेशन सम्पन्न भएको भन्दै आज एक विज्ञप्तिसमेत जारी गरेको छ । क्रिकेट संघका नव निर्वाचित अध्यक्ष विनोदबहादुर चन्दले एकरएक जना मात्रै समेटिए पनि तीन पालिकाका व्यक्ति निर्वाचित भएको बताए ।

प्रतिक्रिया दिनुस