काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भीर भएर लागिपरेको बताएका छन् । मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरुबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढने बताएका छन् । नेकपा एसनिकट निजामती कर्मचारी संगठनले शनिबार गरेको कार्यक्रममा उनले अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीहरुको समस्या समाधान हुनेगरी उनीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्धताका लागि आफूले काम गरिरहेको पनि बताए ।

श्रेष्ठले भने, ‘अस्थायी, करार, ज्यालादारी कर्मचारीको समस्यालाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्धताका लागि हाम्रो मन्त्रालय गम्भीर भएर लागिपरेको छ । श्रम कानुनलाई समयानुकूल सुधार गरी सरकार, रोजगारदाता र ट्रेड युनियन श्रमिक बीचको सम्बन्ध सुमधुर बनाउने गरी मैले मन्त्रीको रुपमा नियुक्त भएदेखि नै लागि परेको छु ।’ उनले कर्मचारीहरुको समायोजनपछि उत्पन्न समस्या समाधान गर्नेलगायतका काममा लागि सरकारले छिट्टै संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन ल्याउन लागेको पनि बताए ।

प्रतिक्रिया दिनुस