कञ्चनपुर । कञ्चनपुरका स्थानीय सरकारले एक बर्षमै खाजा, खानामा करोडौँ रकम स्वाहा पारेका छन । जिल्लाका ९ पालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा खाना खाजामा करोडौँ स्वाहा पारेका हुन । महालेखाको बार्षिक प्रतिवेदन अनुसार कञ्चनपुरका स्थानीय तहले खाना विवित शिर्षकमा करोडौँ रकम खर्चिएका छन ।
दुई गाँउ, सात नगरपालिकाले २ करोड, ५४ लाख, ६३६ रुपैया खर्चिएका छन । सबैभन्दा बढि बेलौरी नगरपालिकाले ४७ लाख, ७६ हजार ८१०, त्यसपनि कृष्णपुर नगरपालिकाले ४७ लाख, ५६ हजार, ३२४, शुक्लाफाँटा नगरपालिकाले ३२ लाख, ३० हजार, ९६४, बेदकोट नगरपालिकाले ३१ लाख, ४६ हजार, २८५, भीमदत्त नगरपालिकाले २६ लाख,२१ हजार, ३५, पुनर्वास नगरपालिकाले १७ लाख, ८४ हजार, दोधाराचाँदनी नगरपालिकाले १६ लाख, ७६ हजार, ८१८, लालझाडी गाँउपालिकाले १६ लाख, ३४ हजार र बेलडाँडी गाँउपालिकाले सबैभन्दा कम १० लाख ३४ हजार खर्चिएका छन ।
बर्षदिनमै पालिका सरकारले करोडौँ रकम खाना खाजामै खर्चिने प्रवृतिले भ्रष्टाचार मौलाएको देखिन्छ । सरकारले सुरक्षा निकाय तर्फका कर्मचारीलाई राशन उपलब्ध गराएपनि स्थानीय तहका पदाधिकारी एव कर्मचारीलाई राशन सुविधा दिएको छैन, तैपनि पालिका जनप्रतिनिधी र कर्मचारीको मिलोमतोमा खाना, खाजा खर्च बिलपेश गरेर पालिकाबाट लाखौँ रकम खर्चिका छन ।
पालिका पदाधिकारी, कर्मचारीलाई खानाको सुविधा गरिएको छैन । भीमदत्त नगरपालिकामा मात्रै सुरक्षा निकाय तर्फ नगर प्रहरी छन । उनीहरुको राशन स्केलमै हुन्छ । कञ्चनपुरका पालिका सरकारले खाना, खाजाका नाममा यस्तो बेथिति मच्चाएपछि जनता हैरान भएका छन ।
स्थानीय तहले खाना शिर्षकमा खर्चिएको करोडौँ रकम विकास निर्माणमा लगाएको भए केही हुने स्थानीयको भनाई छ । जानकारहरुले खाना शिर्षक राखेर मदिरा सहितका विलासिताका बस्तु समेत उपभोग गरिएकाले खर्च बढि देखिएको छ ।
स्थानीयले खाजाखाजामा समेत जनप्रतिनिधी कर्मचारीले भ्रष्टाचार गरेको भन्दै छानबिनको माग अघि सारेका छन । पालिका थुप्रै शिर्षक हुने तर, एकै शिर्षकमा यस्तो बेथिति मच्चाएको भन्दै स्थानीयले बिरोध गरिरहेका छन । मुलुक आर्थिक संकटबाट गुज्रिरहेका बेला पालिकाले विवित शिर्षकतर्फ खानामा लाखौँ, करोडौँ रकम दोहनले बेथिति मच्चाउने काम भएको बुझाई छ ।
सबैभन्दा बढि खानाका खर्च भएको पालिका बेलौरी नगरका प्रमुख प्रशासकिय अधिकृत तारादत्त अवस्थीले खाना खाजाको भएको खर्च विषयमा जनचासो बढिरहेको बताए । ‘खाना खाजा खर्च शिर्षक हुँदैन, विवित भन्ने हुन्छ, ‘उनले भने, ‘मैले जिम्मेबारी पाएदेखि कडाई गरेको छु, हाम्रो बाहिर बाट न खाना आउँछ, न खाजा नै आउँछ ।’
गाँउपालिका मध्ये बढि खर्च गरेको लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले खाना, खाजा नै शिर्षक नभएको बताए । ‘यो राजनीतिक अड्डा हो, यहाँ थुप्रै किसिमका पाहुना आउँछन, उनीहरुको स्वागतदेखि खाना, खाजा विवित खर्च गर्नुपर्ने हुन्छ, ‘उनले भने, ‘त्यसैमा खर्च भएको होला, यो त बढि नै भएको हामीले पनि महसुस गरेका छौँ ।’ आफुले जिम्मेबारी सम्हालेदेखि खाना, खाजाखर्चमा कडाई गरेको उनको भनाई छ ।