कञ्चनपुर । अखिल क्रान्तिकारीले कञ्चनपुरको एक निजी विद्यालयमा तालाबन्दी गरेको छ । सत्ताधारी क्रान्तिकारीले महेन्द्रनगरको ईन्टरनेशल स्कुलमा तालाबन्दी गरेको हो । आइतबार अखिल क्रान्तिकारी कञ्चनपुरले विद्यालयमा तालाबन्दी गरेको जनाएको छ ।
अखिल क्रान्तिकारीले शुल्क बृद्धि खारेजी गर्नुपर्ने, ०८० कै शुल्क कायम हुनुपर्ने, पाठ्यपुस्त्क परिर्वतन गर्न नहुने, गत बर्षकै हुनुपर्ने, भर्ना शुल्क लिन नहुने, विद्यालयले दिने न्यूनितम १० प्रतिशत छात्रबृति दिनुपर्ने सुचना सार्वजनिक गर्नुपर्ने माग अघि सारेर तालाबन्दी गरिएको छ ।
अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले क्रान्तिकारीले विद्यार्थी भर्ना अभियानकै क्रममा विद्यार्थीको हकहितका लागि उठान गरिएका बुँदा कार्यान्वयन नहुँदा ईन्टरनेशलमा तालाबन्दी गरिएको बताए । उनले यातायात शुल्क मनोमानी भएकाले, यातायात मापदण्ड पालना नगरेको र विद्यार्थीलाई क्षमता बढि अध्ययन गराएको र शैक्षिक सरचना मापदण्ड समेत पुरा नगरेको विद्यालय बन्द गर्न माग अघि सारेको छ । ईन्टरनेशल स्कुलले भने क्रान्तिकारीले अघि सारेका एजेण्डा जस्तै शुल्क बृद्धि पाठ्यपुुस्तक परिर्वतन र मापदण्ड अनुरुप नै विद्यार्थी ओसार्ने काम भईरहेको जनाएको छ । ईन्टरनेशल स्कुलका प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले अघिल्लो शैक्षिक सत्र ०८० को तुलनामा अति समान्य मात्रै शुल्क बृद्धि गरिएको बताए । किताब परिर्वतन नभएको तर, अठराई पब्लिगेशनलाई पाठ्यक्रम विकास केन्द्रले कार्बाही गरेपनि मात्रै अग्रेजी विषयको पुस्तक परिर्वतन गरिएको बताए । विद्यालयमा विद्यार्थीलाई मर्का पर्ने गरेर शुल्क बृद्धि नभएको, मापदण्ड अनुरुपै विद्यालयले गुणस्तर शिक्षा प्रदान गरिएको प्रिन्सिपल भट्टले बताए । क्रान्तिकारीले विद्यालयमा गरेको तालाबन्दीका विषयमा छलफलका माध्यमबाट अघि बढ्ने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुस