बेलडाँडी । बेलडाँडी गाउँपालिकामा दुई युवाले घरमै गएर खुकुरी प्रहार गरी एक जना गम्भीर घाइते भएका छन् । गएराति करिब १०ः३० बजे बेलडाँडी वडा नं. ४ बस्ने बर्ष २० का रमेश नेपाली र र बर्ष २० का जनक खड्काले बेलडाँडी वडा नं. २ बस्ने २६ बर्षिय दिपेन्द्र बडवाललाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानमा ती दुई युवा ग्रिनपार्क क्षेत्रमा मादक पदार्थ सेवनगरी निस्किएका थिए । स्थानीय स्रोतका अनुसार उनीहरू रौलेश्वर मावि नजिकै आइपुग्दा जथाभावी कराउँदै हिँडिरहेका थिए ।
बडवाल आफ्नो घर नजिकै रहेको स्थानमा थिए । उनले ती दुई युवालाई “अनावश्यक गालीगलौज नगर्नू, गाउँमा अशान्ति नगर्नू“ भनेर अनुरोध गरेका थिए । तर, रमेश नेपाली र जनक खड्का झन् आक्रोशित हुँदै बडवालको घरमै गए । बडवालले उनीहरूलाई सचेत गराएपछि रमेश नेपालीले खल्तीबाट चक्कु निकालेर अचानक उनको घाटीमा प्रहार गरे । चक्कुको गहिरो चोट लाग्दा बडवाल गम्भीर घाइते भए । घटनाका प्रत्यक्षदर्शीका अनुसार झगडाकै क्रममा रमेश नेपाली आफैं लडेर टाउकोमा सामान्य चोट लागेका थिए ।
चक्कु प्रहार भएपछि बडवालले चिच्याएपछि परिवारजन र छिमेकीहरू तुरुन्तै घटनास्थलमा पुगे । स्थानीयहरूले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर ती दुई युवालाई नियन्त्रणमा लियो । गम्भीर घाइते बडवाललाई तुरुन्तै बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको थियो । तर, अवस्था जटिल बन्दै गएकाले उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको थियो । प्रहरीका अनुसार रमेश नेपालीको समेत टाउकोमा चोट लागेकाले धनगढी उपचार पछि नियन्त्रणमा लिइएको छ । जनक खड्का भने प्रहरी नियन्त्रणमै थिए ।
घरमै पुगेर ज्यान लिने नियतले चक्कु प्रहार गरिएपछि स्थानीयहरूले गम्भीर आक्रोश व्यक्त गरेका छन् । गाउँलेहरूले अपराधीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनुपर्ने माग राखेका छन् । एक स्थानीय बासिन्दाले भने, “राति यत्रो समय नशामा मातेका मान्छेहरू यसरी चक्कु बोकेर हिंड्न पाउनु भनेको गाउँ नै असुरक्षित हुनु हो । अपराधीलाई कारबाही हुनु पर्छ ।”
घटनापछि प्रहरीले बडवाल परिवारको जाहेरीको आधारमा अनुसन्धान अघि बढाउने बताएको छ । तर, स्रोतका अनुसार आरोपित पक्षबाट राजनीतिक दबाब दिई घटनालाई कमजोर पार्न खोजिएको आशंका गरिएको छ । स्थानीयका अनुसार पिडक पक्षले आरोपीको उमेर घटाउन दबाब दिएको र कानुनी कारबाहीलाई हल्का पार्न दबाब दिइएको दाबी गरेका छन् ।
पीडित परिवार र स्थानीयहरूले अपराधीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । उनीहरूले प्रशासनलाई निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् । यो घटनाले रौलेश्वर क्षेत्र त्रसित बनेको छ । स्थानीयहरूले सुरक्षा प्रवन्ध कडा बनाउन प्रहरी प्रशासनसँग माग गरेका छन् ।
बेलडाँडी प्रहरीले घटनाबारे गम्भीरताका साथ अनुसन्धान जारी राखेको बताएको छ । पीडितको जाहेरीका आधारमा कानुनी प्रक्रिया अघि बढाउने र दोषीमाथि कडा कारबाही हुने प्रहरीको दाबी छ ।