बेलडाँडी । चवन्नी बजारलाई पर्यटन प्रवर्द्धनसँग जोड्न र चवन्नी कालिकिच ताललाई जोड्ने सडकको नक्सा अनुसार सडक विस्तार कार्यमा स्थानीय व्यापारीहरूले स्वस्फूर्त रूपमा आफ्नो व्यवसायिक सटर हटाएका छन्।
बेलडाँडी गाउँपालिका प्रमुख हरिश्चन्द्र राना, पूर्व उपाध्यक्ष कमला कार्की, वडा नं २ का अध्यक्ष नारद उर्याल, वडा नं ३ का अध्यक्ष दुर्गा चौधरी लगायत स्थानीय व्यापारीहरूले नक्सामा पर्ने व्यवसायिक सटरहरू हटाएका हुन्।
केही महिना अघि, स्थानीय व्यापारीहरूले नक्साअनुसार सडक विस्तार गरिदिन पालिकालाई ज्ञापनपत्र बुझाएका थिए, जसको आधारमा कार्यपालिकाले सडक विस्तारको कार्य अघि बढाएको हो।
पूर्व गाउँपालिका उपाध्यक्ष कमला कार्कीले विकासको बाधक बन्नु उचित नहुने भन्दै आफैले किनेर बनाएको व्यवसायिक सटर हटाउन लागेको बताइन्। उनले नक्साअनुसार सडकको मार्ग खोल्न सबैलाई सहयोग गर्न आग्रह गरिन्। पालिका प्रमुख रानाले ७ कट्टा जमिनसँग साटेको व्यवसायिक सटर नक्सामा पर्नु र सडकमा अवरोध बन्ने भएकाले आफ्नै सटरमा डोजर लगाएर हटाएका थिए।
तर, माननीय तारालामा तामाङ र प्रदेश सदस्य दिवान सिह बिष्टले सडक विस्तारमा अवरोध पुर्याएको आरोप छ। उनीहरूले बेलाैरी पुनर्वासमा फराकिला सडक विस्तार गरे पनि बेलडाँडीलाई साघुरो सडकमै सीमित राख्न खोजेका आरोप छ। कार्यपालिकाले २ पटक नक्साको बाटो खोल्ने निर्णय गरेपनि तामाङ र बिष्टको प्रतिरोधले यसलाई रोक्ने प्रयास गरेको छ।
सडक विस्तारका क्रममा स्थानीय प्रशासनले ८/९ जनालाई घाइते बनाएको झूठो जानकारी सार्वजनिक गरेपछि, लामो समयसम्म यस विषयमा सामाजिक संजालमा चर्को विरोध भएको छ।
बेलडाँडीका व्यापारीहरूले भने, सडक विस्तार गर्दा सबैको समान अधिकार सुनिश्चित गर्नुपर्ने र आफूहरूले मात्रै समस्या भोग्नुपर्ने होइन भन्ने आवाज उठाएका छन्। उनीहरूले नक्सामा तय गरिएको मार्ग अनुसार सडक खोल्नुपर्नेमा जोड दिएका छन्।