काठमाडौं । सत्ता साझेदार दलहरु भूमिबाहेक पाँच अध्यादेश संसदबाट पास गर्न सहमत भएका छन् । भूमिबाहेकका अध्यादेशहरु २१ गतेको प्रतिनिधि सभा र २२ गतेको राष्ट्रिय सभा बैठकबाट पास गर्ने तयारी छ ।
सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेकाले पाँच वटा अध्यादेशमात्र संसदबाट पास गर्न लागिएको हो ।
भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो । त्यस अगाडि गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएका थिए । २९ पुसमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, निजीकरण ९पहिलो संशोधन० अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएका थिए ।
यी ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् । तर, भूमि अध्यादेशमा जसपाको असहमतिका कारण सबै अध्यादेश एकैपटक संसद्बाट स्वीकृत गराउने सरकारको प्रयास सफल हुन सकेको छैन । अध्यादेशको आयु २७ दिन बाँकी रहेका बेला सरकार भूमि सम्बन्धी अध्यादेश रोक्न सहमत भएको हो । संसद अधिवेशन सुरु भएको ६० दिनभित्र अध्यादेश संसदबाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भूमिबाहेकका पाँच अध्यादेश संघीय संसदका दुवै सदनबाट पास हुने बताए । ‘२१ गतेको प्रतिनिधि सभा बैठकबाट भूमिबाहेक पाँच वटा अध्यादेश पेस गर्ने र त्यसलाई पास गरेर जाने सहमति भएको छ,’ बर्तौलाले भने, ‘राष्ट्रिय सभाबाट पर्सि २२ गते भूमिबाहेकका पाँच अध्यादेश निर्णयार्थ पेस गर्ने सहमति भएको छ ।’ यसमा जसपा नेपाल पनि सहमत भएको उनले बताए । भूमि सम्बन्धी अध्यादेशमा थप सहमति खोज्दै जाने उनले बताए ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले माघ २९ गतेको संसदीय दलको बैठकपछि जारी विज्ञप्तिमार्फत् भूमिबाहेकका अध्यादेश अघि बढाउन सहमत भएको जानकारी सरकारलाई गराइसकेको र अहिले पनि सोही अडानमा कायम रहेको बताए । ‘भूमिबाहेकका अध्यादेश अघि बढाउने सरकारको निर्णयमा हाम्रो सहमति छ,’ सुमनले भने ।