बैतडी, मंसिर २९,बैतडीको पुर्चौडी नगरपालिका–१ हाटस्थित डिलेश्वरी नमुना माध्यमिक विद्यालयको ७८औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बिध्यालय व्यवस्थापन समिति अध्यक्ष रण बहादुर बिष्टको अध्यक्षतामा बिध्यालयको ७८औँ बार्षिक उत्सव भव्यरुपमा सम्पन्न भएको हो। बिध्यालयको शैक्षिक इतिहास, उपलब्धि र भावी योजनालाई समेट्दै आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि पुर्चौडी नगरपालिका नगर प्रमुख दिपक बहादुर बम रहनु भएको थियो। प्रमुख अतिथि बमले विद्यालयको शैक्षिक विकासमा स्थानीय सरकार सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पुर्चौडी नगरपालिका नगर उप–प्रमुख मिना धानुक, पुर्चौडी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर नेपाली , शिक्षा शाखा प्रमुख सुरेन्द्र प्रसाद जोशी, पूर्व प्रधानाध्यापक नवराज जोशी लगायतको विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि हरुकाे उपस्थिति रहेको थियो। वक्ताहरूले विद्यालयले शिक्षाको क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ उन्नत शैक्षिक वातावरण निर्माण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिरेन्द्र बहादुर धानुकले विद्यालयको आर्थिक तथा भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु शैक्षिक वर्षका गतिविधि, उपलब्धि र चुनौतीबारे जानकारी गराउनुभयो।

वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूद्वारा विभिन्न आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै शैक्षिक, खेलकुद तथा अनुशासनतर्फ उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विभिन्न पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमले विद्यालय, अभिभावक, विद्यार्थी तथा समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै डिलेश्वरी नमुना माविको शैक्षिक यात्रामा नयाँ ऊर्जा थपेको सहभागीहरूको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुस