भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे तीनदिने औपचारिक भ्रमणका क्रममा भोलि बुधबार काठमाडौं आउँदै छन् ।
भारतीय दूतावासका प्रवक्ता नवीन कुमारद्वारा मंगलबार जारी प्रेस नोटमा स्थल सेनाध्यक्षको भ्रमणमा दुई देशबीच रक्षा साझेदारी बढाउने विषयमा छलफल हुने जनाएका छन् ।

‘जनरल नरभणेको भ्रमणले दुई सेनाबीच लामो समयदेखि रहेको परम्परागत मित्रता प्रतिबिम्बित गर्नेछ । भ्रमणले दुवै पक्षलाई द्विपक्षीय रक्षा साझेदारीमा छलफल गर्ने अवसर प्रदान गर्नेछ र आपसी हितका लागि साझेदारी थप मजबुत बनाउन अवसर प्रदान गर्नेछ,’ प्रवक्ता नविन कुमारले विज्ञप्तिमा भनेका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष नरभणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाइदिने कार्यक्रम छ ।

सोही दिन राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग सैनिक मुख्यालय जंगी अड्डामा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसक्रममा उनले नेपाली सेनालाई दुईवटा फिल्ड अस्पतालसहितको एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रम छ ।

भारतीय स्थल सेनाध्यक्ष नरभणेले शुक्रबार शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सैनिक अधिकारीहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेपछि अपराह्न उनी स्वदेश फर्किने भ्रमण तालिका रहेको छ ।

प्रतिक्रिया दिनुस