फागुन २० गते भारतीय नागरीक अलियास अन्सारीको यीनले नागरीकता बनाइदिएको भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो

महेन्द्रनगर १८, कार्तिक– भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस बनाइदिएको आरोपमा पक्राउ परेका कैलालीका एक वडा अध्यक्ष धरौटीमा रिहा भएका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१२ का वडाअध्यक्ष गणेशप्रसाद जोशी सोमबार धरौटीमा रिहा भएका हुन्।

सोमबार जिल्ला अदालत कैलालीले वडाध्यक्ष जोशीलाई २५ हजार धरौटीमा रिहा गरेको हो। वडाध्यक्षसँगै पक्राउ परेका अन्य तीन जनामध्ये एक जनालाई साधारण तारेखमा छोडिएको छ भने दुई जना कारागार चलान भएका छन्। वडाध्यक्ष जोशी २५ हजार धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिक विष्टले जानकारी दिए।

वडाध्यक्ष जोशी १४ कात्तिकमा पक्राउ परेका थिए। झुठो विवरण बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी र अन्सारीलाई दाई बनेर नागरिकता दिलाउन सहयोग गर्ने खुसीराम चौधरीले ५० हजार धरौटी बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ। यस्तै भाउजु बनेर नागरिकता बनाउन सहयोग गर्ने गीता चौधरीलाई जिल्ला अदालत कैलालीले साधारण तारेखमा छोड्न आदेश दिएको छ । त्यस्तै घटनामा संलग्न धनगढी उपमहानगरपालिका– १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने अझै फरार छन्।

अध्यक्ष जोशीमाथि भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेको थियो। २० फागुन ०७५ मा धनगढी उपमहानगरपालिका–१२ का हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुबा बनाएर सिफारिस बनाइदिएको भेटिएपछि प्रहरीले जोशीलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुस