डडेल्धुराकै सबैभन्दा अग्लो डाँडो कस्याटाकुरीलाई दृश्यावलोकन केन्द्रका रुपमा विकास गरिने भएको छ। सदरमुकामदेखि १२ किलोमिटर उत्तरतर्फ महाकाली राजमार्गबाट करिब १५ मिनेटको पैदलयात्रामा उक्त ठाउँमा पुग्न सकिन्छ।

करिब सात हजार फिट उचाइको कस्याटाकुरीबाट डडेल्धुरा सदरमुकाम, नवदुर्गा, गन्यापधुरा र अजयमेरु गाउँपालिकाका विभिन्न क्षेत्रका साथै महाभारत पर्वत शृङ्खला तथा डोटी, बझाङ, अछाम, बैतडी जिल्ला र भारतीय भू–भाग अवलोकन गर्न सकिने भएको हुँदा अमरगढी नगरपालिकाले उक्त टाकुरीमा पर्यटन पूर्वाधारका संरचना निर्माण गर्ने काम अगाडि बढाएको छ। डोटेली राज्यका इतिहासकार भोजराज भट्टराइले उक्त टाकुरीमा २५ वर्ष अघिसम्म ढुङ्गाको मन्दिर रहेको बताए।

साथै त्यहाँ केही खाना पकाउने भाँडाकुँडासमेत रहेको अमरगढी नगरपालिका–७ का वडाध्यक्ष खड्गबहादुर बोहराले बताए। कस्याटाकुरी पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले अमरगढी नगरपालिकाले रु ७२ लाखको बोलपत्र आह्वान गरी पूर्वाधार निर्माणको काम शुरु गरेको नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए।

उनले भने, “टाकुरीसम्म पुग्ने पैदलमार्ग, टाकुरीमा मन्दिर निर्माण र विभिन्न क्षेत्रको दृश्य हेर्नका लागि दुरर्बिन राख्छौं, साथै वनभोजस्थलका रुपमा विकास गर्ने गरी विभिन्न संरचना निर्माणको काम अगाडि बढाइनेछ ।”टाकुरीसम्म पुग्ने पैदलमार्गका बीचबीचमा पर्यटकका लागि विश्रामस्थल र सुरक्षाका लागि टाकुरीको चारैतिरबाट रेलिङ लगाउने काम भइरहेको छ।

टाकुरी उत्खन्न गर्दा प्राचीनकालीन ओखल (धान कुट्न बनाइएको ढुङ्गा) र मन्दिरको घण्टीलगायतका सामग्री भेटिएका छन्। रासस

प्रतिक्रिया दिनुस