सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ । आइतबार बहस नसकिएपछि यो विषयलाई हेर्दाहेर्दैमा राखिएको छ, सोमबार फेरि सुनुवाइ हुनेछ । आइतबारको बहसमा रिट निवेदकको तर्फबाट सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्ट सहभागी भएका थिए। सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेसँगै आइतबारदेखि फेरि सुनुवाइ सुरु भएको हो ।

बहसमा रिट निवेदकका वकिलहरूले संसद् विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान सभाले संविधान लेख्दा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिने वा नदिने भन्नेमा लामो बहस भएको स्मरण गराउँदै छलफलको रेकर्ड मगाउन मागगरेका छन् ।

यसअघि रिटमा सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमा गर्ने भन्नेबारेमा मतभेद भए पनि सर्वोच्चले संवैधानिक इजलासबाटै गर्ने निर्णय गरेको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रश्मसेर जबरा, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट निवेदन परेका छन् ।

प्रतिक्रिया दिनुस