कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएको छ।  यस पूर्व त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा रहेको कैलाली बहुमुखी क्याम्पसलाई शत प्रतिशत सरकारी लगानी हुने गरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याइएको प्राध्यापक सङ्घका सभापति लोकबहादुर विष्टले बताए। उनले कैलाली बहुमुखी क्याम्पसमा सरकारी लगानी ल्याउनका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयसँग आइतबार सम्झौता गरिएको बताए।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय महेन्द्रनगर र कैलाली बहुमुखी क्याम्पस धनगढीबिच क्याम्पस समायोजन र हस्तान्तरण सम्बन्धमा भएको सम्झौता पछि कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाइएको हो। कैलाली बहुमुखी क्याम्पसका तर्फबाट अध्यक्ष सूर्यबहादुर थापा र विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राचार्य डा.अम्मरराज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। विस २०३७ सालमा सामुदायिक क्याम्पसका रूपमा स्थापना भएको कैलाली बहुमुखी क्याम्पस कैलाली कमर्स क्याम्पसको नामले खोलिएको थियो।
यसको पछि कैलाली बहुमुखी क्याम्पस नामकरण गरिएको हो। सुरुवातमा कैलाली क्याम्पस पञ्चोदय विद्यालयको भवनमा सञ्चालनमा आएको थियो। क्याम्पस २०४० सालमा हाल रहेको स्थानमा स्थानान्तरण गरिएको हो। कैलाली बहुमुखी क्याम्पसलाई २०४६ सालमा त्रिभुवन विश्वविद्यालयले देशकै उत्कृष्ट सामुदायिक क्याम्पस घोषणा गर्दै एक लाख ४५ हजार रूपैँया पुरस्कारसमेत प्रदान गरेको थियो।
यस अघि सुदूरपश्चिमका विभिन्न जिल्लाका १४ क्याम्पसहरू सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएका थिए।
तर कैलाली बहुमुखी क्यापसँग भने केही विवाद उत्पन्न भएको थियो। विवाद हल भएसँगै कैलाली बहुमुखी क्याम्पस पनि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिकका रूपमा रहने प्रिन्सिपल भूपेन्द्र सिह विष्टले जानकारी दिए। उनले भने,–जनशक्ति विवादले केही विवाद उत्पन्न भएको थियो, २०७५ सम्मका जनशक्तिलाई सोही बढुवामा सिफारिस गर्ने सहमति भएपछि विवाद समाधान भएको छ।’
प्रतिक्रिया दिनुस