बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरको भण्डार घरको छानामा ताम्रपत्र लगाइएको छ। प्रसिद्ध शक्तिपीठको रुपमा रहेको सो मन्दिरको भण्डार घरको छानो ताम्रपत्रले छाएको त्रिपुरासुन्दरी मन्दिर व्यवस्थापन समितिका सदस्य गणेश थापाले जानकारी दिए। चन्दा संकलन गरेर भण्डार ताम्रपत्रले छाएको उनले बताए।

१६ लाख ९७ हजारको लागतमा मन्दिरको भण्डारघरमा ताम्रपत्र लगाउने काम सम्पन्न भएको हो। सो कार्यका लागि २४ लाख २७ हजार चन्दा संकलन भएको मन्दिर व्यवस्थापन समिति सदस्य थापाले जानकारी दिए। नेपाल सरकारले घोषणा गरेका एकसय ओटा पर्यटकीय गन्तव्यमा पर्न सफल त्रिपुरासुन्दरी भगवती मन्दिरमा प्रत्येक बर्ष बलिसहित जात्रा हुने गरेको छ। सो मन्दिरमा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन्।

धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ। सो मन्दिरमा हरेक बर्षको असोजको नवरात्री, कार्तिक शुक्ल अष्टमी र चैतको नवरात्रीमा जात्रा हुने गरेको छ।

प्रतिक्रिया दिनुस