समयमै विद्युत विस्तार नगरेको भन्दै दार्चुलाका स्थानीयहरुले विद्युतको ३३ केभी प्रशारण लाइन अवरुद्ध गरेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ५, ६, ८ र ९ मा विद्युत विस्तारका लागि ३ बर्ष अघि ठेक्का सम्झौता भएको भएपनि ठेकेदारको लापरवाही गरेकाले विद्युत विस्तार नभएको भन्दै स्थानियले ३३ केभी प्रशारण लाइन नै अवरुद्ध पारेका हुन्।

माग पूरा गराउन सडक अवरुद्ध गरेका स्थानीयहरुको माग पूरा नभएपछि ३३ केभी प्रशारण लाइन अवरुद्ध गरेको संघर्ष समितिका संयोजक कृष्णसिंह डाँगाले बताए। उनले भने,–‘हामीले आन्दोलनको स्वरुप बदलेका छौं। सडक अवरुद्ध गर्दा समेत सरोकारवालाहरुको ध्यान गएन त्यसैले हामीले विद्युत लाइन काटेर विद्युत प्रशारण अवरुद्ध गरेका छौं।’

आफूहरुले माग पूरा गराउन सरोकारवाला निकायहरुलाई गएको पौष २६ गते नै ध्यानाकर्षण पत्र बुझाएको भएपनि कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको डाँगाले बताए। ठेकेदारको लापरवाहीका कारण स्थानीयहरु आन्दोलित भएका शैल्यशिखर नगरपालिका वडा नं २ का वडा अध्यक्ष माधवराज भट्टले जानकारी दिए। स्थानीयहरुको माग पूरा गराउन चमेलिया जलविद्युत आयोजनालाई समेत जानकारी गराईसकेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुस