बझाङमा भएको युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका २ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडीलाई रहेका छन्। उनीहरुलाई थलारा गाउँपालिकाबाट पक्राउ गरिएको हो।

छबिसपाथिभेरा गाउँपालिका ३ का अमृत सिंहको मंगलबार साँझ हत्या भएको थियो। बझाङका नायब उपरीक्षक रुपक खड्काका अनुसार सिंहको हत्या गरेको आरोपमा छबिसपाथिभेरा–२ का ज्ञानबहादुर कडायत भने मंगलबार नै पक्राउ परिसकेका छन्। छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ को बान्नीचौर माविको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको खुँडा प्रहार गरी हत्या भएको प्रहरीको जनाएको छ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले काँग्रेस निकट उम्मेदवार लोकेन्द्र बोहरासँग पराजित भएका थिए। धामीले १४९ र बोहराले १७७ मत प्राप्त गरेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले बताए। उनका अनुसार हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका व्यक्ति हुन्।

हत्यामा सरकारी मोटरसाइकल प्रयोग

हत्यामा सरकारी मोटरसाइकल प्रयोग भएको छ । सरकारी मोटरसाइकलमा आएका नेकपा कार्यकर्ताहरूले खुँडा प्रहार गरी तरुण दलका कार्यकर्ताको हत्या गरेको प्रहरीले जनाएको छ ।आक्रमणकारीले छबिसपाथिभरा गाउँपालिका ३ का वडाध्यक्ष विकास ऐडीको सरकारी मोटरसाइकल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।

बान्निचौर माविको व्यवस्थापन समितिमा नेपाली कांग्रेस निकट प्यानलले जितेपछि रुष्ट रहेका केही आपराधिक प्रवृत्तिका व्यक्तिहरुले नेपाल तरुण दलको छबिस पाथिभरा गाउँपालिका सदस्य सिंहलाई खुँडा प्रहार गरी हत्या गरेकोमा तरुण दलले कडा विरोध जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा विकास ऐडी नेकपा ९एमाले० बाट निर्वाचित भएका थिए । उनले २५३ मत ल्याएर नेपाली कांग्रेसका विनोद रावललाई जम्मा २ मतले पराजित गरेका थिए ।

व्यवस्थापन समितिको चुनावमा गाउँपालिका प्रमुख अक्कल धामीका छोरा गजेन्द्र धामी प्रचण्ड समूहका उम्मेदवार रहेका थिए । भने कांग्रेस लगायतको समर्थनमा अर्का उम्मेदवार लोकेन्द्र बोहरा मैदानमा थिए । चुनावमा धामीका छोरा पराजित भएपछि वडा नम्बर २ का अध्यक्ष विकास ऐडीको नेतृत्वमा आक्रमण भएको र उनैले हत्या गर्नेलाई मोटरसाइकलमा राखेर भगाएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुस