डडेल्धुरामा लोप हुँदै गएका भैसीको संरक्षण तथा प्रवर्धन हुने भएको छ। पछिल्लो समयमा सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा लोप हुँदै गएको स्थानीय भैँसीलाई अमरगढी नगरपालिकाले प्रवर्द्धन गर्ने भएको हो। भैँसी पालन व्यवसायलाई प्रवर्धन गर्नका लागि नगरपालिका भित्रका किसानहरुलाई १ सय वटा उन्नत जातका भैँसीहरु वितरण गर्ने कार्य अगाढी बढाएको अमरगढी नगरपालिकाले जनाएको छ ।

अमरगढी भित्रका ग्रामिण क्षेत्रमा रहेका किसान हरुलाई साझेदारी अनुदानमा उन्नत जातका १ सय वटा भैँसी उपलब्ध गराएर भैँसी संरक्षण कार्य संचालन गरिएको अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले बताए । मासुका लागि राँगा भैँसीहरु बर्सेनी तराईका जिल्लाहरु तिर निर्यात हुने गर्दा दुध नदिने भैँसी २० देखी ३० हजार रुपिँयामा ठेकेदारहरुले खरिद गरि लैजाने गरेका छन्। यसरी भैँसीहरु निर्यात हुदाँ पहाडी जिल्लाहरुमा दुध दिने भैँसी पाउन मुस्किल भएको छ । दुध दिने भैँसी खरिद गर्दा अहिले पहाडी जिल्लाहरुमा प्रति भैसी ७० देखी ८० हजार रुपिँया पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुस