कञ्चनपुरमा नक्कली नेपाली नोट बनाउने मेसिनसहित दुइ जनालाइ शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको बेलौरी नगरपालिका –८ पचुँइबाट नक्कली (जाली) नेपाली नोटसहित दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ बस्ने २३ वर्षीय संजय राना र सोही ठाउँ बस्ने वर्ष २२ को इन्द्रसिंह राना रहेका छन्।
बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायव निरीक्षक केशव बहादुर चन्दको कमाण्डमा रहेको टोलीले उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ। दुवैको साथबाट नक्कली नोट बनाउने कागज २ सय थान, हजार दरको नक्कली नोट ५ थान, मोबाइल फोन २ थान, नगद एक सय ६०, मोटरसाइकलको लाइसेन्स र ब्लु बुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।
उनका अनुसार पक्राउ परेका दुवै जनालाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामान सहित आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाइएको छ।