जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी कार्यालयमा छड्के अनुगमन गरेको दोस्रो दिन पनि सरकारी कर्मचारी पोसाकमा आएका देखिएनन्। आइतबार मात्रै प्रमुख जिल्ला अधिकारी रामकुमार महतो सहितको टोली भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयको छड्के अनुगमनमा निस्किएको थियो।
अनुगमनका क्रममा जिल्ला मालपोतका कार्यालयका प्रमुख बाहेक अन्य कर्मचारीले पोसाक नलगाएको,समयको पालना नगरेको, एक दिन अगाडीकै हाजिरी उपस्थीत लगाएको फेला परेको थियो। तर आइतबार मात्रै सिडिओ सहितको टोली मालपोत र नापी कार्यालयमा पुगी सरकारी कर्मचारीले पुर्णरुपमा अनुशासन कायम गरिएको हुनुपर्ने आदेश जारी गरेका थिए। सोमबार पनि कर्मचारीहरु भने रफ पोसाकमा कार्यालय मै उपस्थीत छन्। एकातिर मालपोतका कर्मचारी भने कार्यालय समयमा कहिले पनि सरकारी पोसाक नलगाउने, कर्मचारीमा समयको पालना, अनुशासित तथा आचरणयुक्त नभएको, सेवाग्राहीमैत्री वातावरण सृजना गर्नमा असक्षम रहेको गुनासो बढ्दै गएको छ।
सोमबार पनि कालापानी अनलाइन खबरको टिम मालपोत र नापी कार्यालयमा पुग्दा सोही अवस्था देखिएको हो। मालपोत र नापी कार्यालयका कर्मचारी सोमबार पनि रफ पोसाकमा कार्यालयमा सेवा दिइरहेका थिए। सेवाग्राहीलाई भने कुन कर्मचारी र कुन बाहिरको भन्ने छुट्टाउनै मुस्किल भएको छ। यसै बिच महाकाली नगरपालिकाका नगरप्रमुख बिर बहादुर सुनार पनि मालपोत कार्यालयमा सेवाग्राहीका रूपमा बसेका देखिए।
मालपोत कार्यालयले सरकारी नियमको धज्जी उडाएको पाइएको उनले बताए। उनले भने,–‘एक साता पहिले पनि मालपोतमा आएको थिए अवस्था उही थियो, आज पनि उही छ।’ कहिले सुध्रने हाम्रा कर्मचारी।’ जिल्ला प्रशासन कार्यालयको आदेशको पनि ठाडो उल्लङ्घन गर्दै मालपोत र नापी कार्यालयले सेवाग्राहीमैत्री वातावरण सृजना गर्न नसकेको मेयर सुनारले बताए।
प्रशासनको आदेशको किन पालना नगरिएको भन्ने विषयमा मालपोत कार्यालयका सूचना अधिकारी लोकराज जोशीले मौसम अनुकूल नहुँदा नियमको पालन गर्न नसकिएको बताए। उनले भने,–‘ चिसोको मौसमले कर्मचारीले पोसाक लगाउन सकिरहेका थिएनन्, हिजो नै कार्यालय प्रमुखको उपस्थितिमा बैठक बसेर २–३ दिन भित्रै पोसाकमा आउन निर्देशन गरिसकेका छौ।’
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने सरकारी कर्मचारीले नियमको उलङ्घनमाथि उलङ्घन गरेको पाइए कडा कारबाही गरिने जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले मालपोत र नापीका ४० बढी कर्मचारीको भत्ता कटौतीका लागी सम्बन्धित विभागमा पत्राचार गरिसकेको जानकारी दिए। उनले अझै नियमको उल्लङ्घन गरे थप कारबाही अगाडी बढाइने जनाएका छन्।