
काठमाडौं । वर्षायामको मध्यतिर आइपुग्दा नेपालमा डेंगु संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२६ को सुरुदेखि हालसम्म देशका ७२ जिल्लामा डेंगु पुष्टि भइसकेको छ ।
महाशाखाको पछिल्लो तथ्यांकअनुसार जनवरीदेखि हालसम्म २ हजार २५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ठूलो हिस्सा पछिल्लो एक महिनामै थपिएको देखिएको छ । यस अवधिमा डेंगुका कारण दुई जनाले ज्यान गुमाएका छन् ।
प्रदेशगत विवरणअनुसार सबैभन्दा धेरै संक्रमित कोशी प्रदेशमा ५६८ जना र गण्डकी प्रदेशमा ५३२ जना रहेका छन् । त्यसपछि बागमतीमा ३६५, लुम्बिनीमा ३४३, सुदूरपश्चिममा १०३, मधेशमा ७२ तथा कर्णालीमा ४२ जना संक्रमित रहेको महाशाखाले जनाएको छ ।
जिल्लागत रूपमा झापा सबैभन्दा प्रभावित देखिएको छ, जहाँ २०४ जनामा संक्रमण पुष्टि भएको छ । दोस्रो स्थानमा बागलुङमा १८० जना संक्रमित छन् । त्यस्तै सुनसरीमा १६१, पाल्पामा ११६, कास्कीमा ११०, काठमाडौंमा ९७, रूपन्देहीमा ६७, ओखलढुंगा र गोरखामा समान ६४–६४ तथा तनहुँमा ६२ जना संक्रमित रहेका छन् ।
ईडीसीडीअन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार अघिल्लो वर्षको तुलनामा संक्रमणको दर करिब ५० प्रतिशतले घटेको भए पनि जोखिम अझै टरेको छैन । उनका अनुसार साउनदेखि भदौसम्मको समय डेंगु फैलिने सबैभन्दा संवेदनशील अवधि भएकाले सर्वसाधारणले विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ चिकित्सक डा. विमल शर्मा चालिसेले पनि संक्रमणको गति केही कम भए पनि जोखिम अझै कायम रहेको बताए । पछिल्ला वर्षहरूको तथ्यांक हेर्दा मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा संक्रमण कम देखिए पनि कुनै पनि प्रदेश सुरक्षित नरहेको उनको भनाइ छ ।
डेंगु नियन्त्रणका लागि सरकारले असारको अन्तिम सातादेखि कात्तिकसम्म विशेष निगरानी तथा जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । प्रभावित जिल्ला र स्थानीय तहमा संक्रमणको अवस्था निरन्तर विश्लेषण गरी आवश्यक प्राविधिक सहयोग तथा निर्देशनसमेत उपलब्ध गराइँदै आएको महाशाखाले जनाएको छ ।
तीन महिने अभियानअन्तर्गत डेंगु सार्ने एडिस एजिप्टी प्रजातिका लामखुट्टेको बासस्थान र प्रजननस्थल खोजी गरी नष्ट गर्ने, घर–आँगन वरपर पानी जम्न नदिने तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।
स्वास्थ्य विज्ञहरूले डेंगुबाट बच्न पानी जम्ने भाँडा, टायर, गमला र अन्य स्थान नियमित सफा गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउने तथा ज्वरो, टाउको दुख्ने, आँखाको पछाडि पीडा वा शरीर दुख्ने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेका छन् ।

