महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता २०७७ अन्तर्गत आज उपाधिका लागि महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरिया भिड्ने भएका छन्। महेन्द्रनगर युनाइटेड निलो र सगरमाथा युवा क्लब अत्तरियाबिच भएको पहिलो सेमिफाइनल खेलमा महेन्द्रनगर युनाइटेडले सगरमाथालाई २–१ गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो।
एमसिडिसी बेदकोट नगरपालिका वडा नम्बर ५ र पिएफए अत्तरियाका बिचको दोस्रो सेमिफाइनलको खेलमा अत्तरियाले एमसिडिसी धरमपुरलाई ४–१ गोलले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो। बुधवार (आज) प्रथम युनाइटेड खुल्ला आमन्त्रण कप २०७७ को उपाधिका लागि दिउँसो १ बजे महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरिया फाइनल भिड्ने प्रतियोगिताका संयोजक महेन्द्र चन्दले बताए।
सेमिफाइनल र फाइनल खेलका म्यान अफ द म्याचलाई पुरस्कार स्वरूप सुदूरपश्चिम प्रदेश फुटबल सङ्घका अध्यक्ष दिनेश कुमार श्रेष्ठले नगद पाँच पाँच हजार दिने घोषणा गरेका छन्। खेलकुद क्षेत्रलाई उजागरका साथै फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल सङ्घ र सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यही माघ १२ गते देखि महेन्द्रनगरको खुल्ला मञ्चमा प्रतियोगिताको आयोजना गरिएको हो।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरी क्षेत्रकै सर्वाधिक धनराशि भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप २०७७ को उद्घाटन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले गरेका थिए। प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ टिमको सहभागिता रहेको छ। चार समूहमा चार र चार टिम रही नकआउट आधारमा खेल खेलाइएको र प्रतियोगिता २१ गते फाइनलसँगै समापन हुने छ  प्रतियोगिता च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता टिमले ५० हजार पुरस्कार हात पार्ने छन्।
प्रतिक्रिया दिनुस