२१ माघ-कञ्चनपुरमा ९ सय ७४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। कोरोना भाइरस विरुद्धको खोप अभियानको सातौँ दिन मंगलबार सम्म जिल्लाको महाकाली, भीमदत्त, बेतकोट र शुक्लाफाँटाका गरी ९ सय ७४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन्। स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्टिन निरीक्षक जनक बहादुर कुँवरका अनुसार स्थानियतहको पालो छुट्याएर खोप लगाउन सुरु गरिएको हो।
पहिलो चरणको खोप अभियान माघ २४ गते सम्म चल्ने छ। बुधवार (आज) पुर्नवास नगरपालिका र लालझाँडी गाउँपालिकाका स्वास्थ्य कर्मी, एम्बुलेन्स चालक, सब बाहन चालक, सुरक्षा कर्मी र सरसफाइ कर्मीलाई कोरोना विरुद्धको खोप लगाइने छ। कञ्चनपुरमा कोरोना भाइरस विरुद्धको २ हजार ८ सय २० डोज खोप पठाइएको थियो । जसमध्ये झन्डै एक हजार जनाले खोप लगाइसकेका छन्। बिहीबार कृष्णपुर र बेलौरी नगरपालिकाका छुटेकालाई खोप लगाइने कोल्टिन निरीक्षक कुँवरले बताए।
२३ गते जिल्ला स्थित वृद्धाश्रम र कारागारमा खोप लगाउने कार्यक्रम रहेको उनले जानकारी दिए। अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स तथा शववाहक तथा सहचालक र कोरोनाका कारण मृत्यु भएकाहरूको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई माघ २४ गते सम्म पहिलो चरणको खोप लगाइसक्ने उनले बताए।
प्रतिक्रिया दिनुस