मृत अवस्थामा भेटिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको पोष्टमार्टम रिपोर्ट आएको छ। बैतडी अस्पतालले जिल्ला प्रहरी कार्यालय बैतडीलाई सोमबार बुझाएको पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ। रिपोर्टअनुसार भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
यसअघि घटनास्थलको प्रकृति हेर्दा पनि बलात्कारपछि हत्या भएको आशंका गरिएको थियो। माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घरनजिकैको लबलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन्। भागरथीको शरिरका विभिन्न अंगमा निलडाम र चोटपटक, योनीबाट रगत बगेको र घाँटी समेत निमोठेको थियो।
बलात्कारपछि हत्या भएको पुष्टि भएसँगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तीव्र बनाएको जनाएको छ। घटना भएको दिन उक्त बाटो भएर हिँडडुल गर्ने व्यक्ति, सवारी साधनमा आवतजावत गर्ने, शंकास्पदमाथि सोधपुछको काम भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए। यस्तै किशोरीको भेजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ।
भागरथी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित सनातन धर्म माबिमा अध्ययनरत रहेकी थिइन्।