संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध नेपाली काँग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै छ । गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको पार्टीले जनाएको छ ।

जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई काँग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको काँग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो । आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुस