फाइल।

कैलालीमा नरभक्षी बाघ नियन्त्रणमा ल्याउन जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको छ। केही दिनयता कैलालीमा आतंक मचाइरहेको पाटे बाघ नियन्त्रणमा लिन प्रशासनले आदेशजारी गरेको हो।

जिल्ला सुरक्षा समिति कैलालीको आइतबार बसेको बैठकले सुरक्षाकर्मीलाई बाघलाई नियन्त्रणमा लिन सशस्त्र र जनपथ प्रहरीलाई आदेश दिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले केही दिनयता आफुहरु सो बाघको गतिविधिलाई गम्भीर रुपमा लिएको र व्यवस्थापन गर्न मातहतका निकायलाई परिपत्र गरेको जानकारी दिए।

“नरभक्षी पाटेबाघलाई सकेसम्म ‘डार्ट’ गरेर (बेहोस बनाएर) नियन्त्रणमा लिइने हो। नभए मार्नसम्मको कानुनी प्रावधान छ।” उनले भने। उनले बाघ प्रभावित क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरीएको जानकारी दिए। बाघको प्रभावित क्षेत्र जिल्लाको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका क्षेत्रमा सुरक्षा बढाइएको कैलाली प्रहरीले जानकारी दिएको छ। त्यस्तै, सो नरभक्षी बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले माथिल्लो निकायसँग पहल भइरहेको बताएको छ।

आइतबार मात्रै जंगलमा ल्याउला लिन गएका बेला गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयाकी २५ वर्षीया कला धामीको सोही बाघको आक्रमणबाट मृत्यु भएको थियो। गत शुक्रबार कैलारी गाउँपालिका ८ दुधियाका २८ वर्षीय दुर्गा चौधरीलाई स्थानीय सीता कुँवा सामुदायिक वनमा विहेको लागि पात टिप्न गएको बेला आक्रमण गरि घाइते बनाएको थियो।

प्रतिक्रिया दिनुस