डोटीको केआई सिंह गाउँपालिकामा पहिलो पटक बस पुगेपछि स्थानियले बाजागाजा सहित फुलमाला अबिरले स्वागत गरेका छन्। शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि र सुन्दर सुदूरपश्चिम यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले बस सञ्चालनमा ल्याएको हो। आइतबार गाउँपालिकाको कार्यालय वायलमा बस पु¥याएर एक कार्यक्रमका बीच सेवा सञ्चालनमा ल्याएको हो। दिपायलबाट २२ किलोमिटरको दुरीमा रहेको गाउँपालिकाको केन्द्र सम्म नियमित बस सञ्चालन हुनेछ।
गाउँपालिकाको वडा नं. ४ वायल बाट हरेक दिन बिहान ८ः३० बजे धनगढी सम्मका लागि बस छुट्ने शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिका अध्यक्ष गणेश मलासीले जानकारी दिए। १० किलोमिटर सडक कालोपत्रे भैसकेको छ भने १२ किलोमिटर सडक कालोपत्रे हुने तयारीमा रहेको छ। दैनिक महंगो भाडामा दिपायलसम्म जीपमा यात्रा गर्ने यात्रुहरुले वायलबाट ६ सय पचासी रुपैंयाँ धनगढी र वायलदेखि कुलपाते सम्म १ सय साठि रुपैंयाँमा यात्रा गर्न पाउने भएका छन्।
स्थानीयहरुले कालोपत्रे हुन बाँकी १२ किलोमिटर सडक चाँडै कालोपत्रे हुनसके ढुक्कका साथ यात्रा गर्न पाउनेमा आशा ब्यक्त गरेकाछन्। स्थानिय मीन बहादुर बमले अब यात्रा गर्न सहज हुने बताउदै बस चढ्न दिपायल जानुपर्ने बाध्यता पनि हटेकाले खुसी लागेकोे बताए। कार्यक्रममा बोल्दै शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिका अध्यक्ष गणेश मलासीले गाउँपालिकाका अध्यक्षको समन्वयमा नियमित बस सेवा सञ्चालन गरिएको बताए। ‘प्रालिले नाफा मात्रै नहेरेर यात्रुको सेवालाई समेत मध्यनजर गर्दै बस सेवा सञ्चालनमा ल्याएकाले स्थानीयले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ।
केआइ सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले आफुहरुले जारी गरेको चुनावी घोषणा पत्र अनुसार काम गरिरहेको बताए। शाहीले आफ्नो घोषणापत्र अनुरुप गाउँपालिकामा विकास निर्माणका कार्यहरु भैरहेकोले जनताले र प्रतिपक्षिले केआईसिंह सरकारका गतिबिधिको अनुगमन र मुल्याङ्कन गर्न आग्रह गरे।