सुदूरपश्चिम प्रदेशसभामा बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने आवाज उठेको छ। आज बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रदेश सभा सदस्यले छोरीचेली असुरक्षित भएको भन्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठाएका हुन्। जनता समाजवादी पार्टीका प्रमुख सचेतक मालामती रानाले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था हुनु पर्ने माग गरिन्।

‘संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था हुनु पर्दछ प्रमुख सचेतक रानाले भनिन्, बलात्कारपछि हत्या गरिएको बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको हत्यारालाई पनि मृत्युदण्ड दिनुपर्छ।’‘प्रदेश सरकारले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ मात्रै दिएर हुदैन आमाको कोख उजाडिएको छ। घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय हुनु पर्दछ।’ उनले भनिन्। प्रदेशमा बलात्कार र हत्या बढेको भन्दै प्रदेशसभा सदस्य शान्ति नेपालीले दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरिन्। ‘कञ्चनपुरकी निर्मला पन्त, कल्पना विष्ट, कैलालीकी माया बिक, बझाङकी सम्झना बिक र पछिल्लो समय बैतडीकी भागरथी भट्टको पनि बलात्कारपछि हत्या भएको पोष्टमार्टम् रिपोर्टले पुष्टि गरेको छ।’

उनले भनिन्, ‘हत्याराको पहिचान गरेर कडाभन्दा कडा कारबाही हुनुपर्छ।’ सुदूरपश्चिम पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै संविधानमा व्यवस्था भएबमोजिम प्रदेशले अधिकार नपाएको गुनासो गरे। उनले प्रशासन र प्रहरी प्रदेश मातहतमा नआउँदा प्रदेश सरकारलाई शान्ति, सुरक्षा कायम गर्न समस्या भइरहेको बताए। ‘प्रदेश सरकारले न अनुसन्धान टोली गठन गर्न सक्छ न त प्रहरीलाई आदेश दिन सक्छ।’ उनले भने, ‘समस्या यहाँ हुने तर, त्यसको कमाण्ड केन्द्रबाट हुँदा समस्या भइरहेको छ।’ उनले भागरथी भट्टको हत्या घटनाको अनुसन्धानमा प्रदेश सरकारले अनुसन्धानमा खटेको प्रहरीको अनुसन्धान टोलीलाई पूर्ण सहयोग गरेको बताए। उनले भागरथीका परिवारलाई पाँच लाख सहयोग गरेको बताए।

प्रतिक्रिया दिनुस