बागलुङमा तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ। सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो। वन पैदावार र बस्तीसमेत जोखिममा परेपछि सामुदायिक वनका उपभोक्ताहरू रातभर आगो नियन्त्रणका लागि खटिएका थिए। आगलागीका कारण गलकोट नगरपालिका–५ को दानसिङडाँडा सामुदायिक वन, गगनपानी सामुदायिक वन र वडा नं ७ को ठूलाचौर सामुदायिक वनमा करोडौँ रुपैयाँको क्षति भएको छ।
भैंसे दानसिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका–५ देखि शुरु भएको आगो गगनपानी सामुदायिक वन हुँदै छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको थियो। राति स्थानीयवासीले अग्नि रेखा निर्माण गरी बिहान आगो नियन्त्रण गरेका थिए। ठूलाचौर सामुदायिक वनको मल्म खोलापारिदेखि मान्दारादानसिङ जोड्ने गोरेटो बाटो सफा गरी स्थानीयवासीले अग्नि रेखा निर्माण गरेका थिए। करीब २०० मानिसले लाइनमा बसी स्याउला, बाल्टीमा पानी बोकेर आगो निभाउन सफल भएको ठूलाचौर सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले बताइन्।
जङ्गल नजीकै रहेको बस्ती खोलापारि, साहानीडाँडा, नरौदी र मान्दारा आगोको उच्च जोखिममा रहेका थिए। आगो झण्डै १७÷१८ घण्टापछि नियन्त्रमा आएको हो। आगलागीका कारण दानसिङडाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफल, गगनपानी सामुदायिक वनको पाँच हेक्टर र ठूलाचौर सामुदायिक वनको ८० हेक्टर जङ्गल जलेको छ। वन क्षेत्रमा आगलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी र रूखबिरुवा जलेर नष्ट भएका छन्।