बझाङ जिल्लामा सञ्चालित हातेकागज उद्योगहरु बन्द भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिकाको कैलासमा रहेको मालिका हातेकागज उद्योग, बुङगल नगरपालिकाको गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको प्रगतिशिल खप्तड हातेकागज उद्योग र गडरायमा रहेको गोर्खाली हाते कागज उद्योग, मष्टा गाउँपालिकामा रहेको हिमालयन हाते कागज उद्योग, तल्कोट गाउँपालिकाको दाँतोलामा रहेको बडीगाउँ हातेकागज उद्योग हाल बन्द छन् । उद्योग बन्द भएपछि भौतिक संरचना र उपकरणहरु पनि बेवारिसे बनेका छन् भने कतिपय उपकरणहरु चोरी भएका छन् ।

उद्योगमा उत्पादित कागजको लागत बढ्ने र बजारमा पाइने कागज भन्दा महंगो पर्न थाले पछि बजारमा प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका उद्योग सञ्चालकहरुको भनाइ छ । खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको प्रगतिशिल खप्तड हातेकागज उद्योग विगत ५ वर्षदेखि बन्द छ । २०६६ सालमा सञ्चालनमा आएको उद्योगबाट उत्पादित कागजले बजार नपाउँदा उद्योग बन्द गर्नुपरेको सञ्चालक गोविन्द सिंहले बताए । उनले भने, “उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढ्दा लागत बढ्ने र बजारमा अन्यत्रबाट आउने कागज भन्दा महंगो हुन थालेपछि बिक्री गर्न सकिएन । ” उद्योग सञ्चालनमा रहेको बेला कागजका लागि कच्चा पदार्थ लोक्ता तथा कागज ढुवानी गर्ने, दाउरा बिक्री गर्ने, मेसिन चलाउने गरी ३० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । उद्योग बन्द हुँदा आयआर्जनको मुख्य बाटो बन्द भएको छ । हालसम्म विभिन्न निकायहरुमा अनुदानका लागि पहल गरेपनि कतैबाट सहयोग नपाएको सञ्चालकको गुनासो छ । मेसिन मर्मत र कच्चा पदार्थ खरिदका लागि अनुदान पाए उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ । बुङगल नगरपालिका १ मा रहेको जुनेली हाते कागज उद्योग विगत ७ वर्षदेखि बन्द छ । उद्योगका सञ्चालक अक्कल बोहराको समस्या पनि उस्तै छ । बजारमा प्रतिस्पर्धा गर्न नसक्दा उद्योग नै बन्द गर्नु परेको उनको गुनासो छ ।

हिमाली वन विनास हुन थालेपछि कच्चा पदार्थ पर्याप्त मात्रामा नपाइने र कच्चा पदार्थ संकलन तथा ढुवानी महंगो हुन थालेपछि कागज उत्पादन गर्न न सकेको उनको भनाइ छ । कुनै बेला स्थानीयको रोजगारीको महत्वपूर्ण माध्यम बन्दै आएको उद्योगको अहिले गौचरनमा परिणत भएको छ । उद्योग सञ्चालन ल्याउन एन्साब नामक अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले पाँच लाख बराबरको उपकरण र प्रविधिमा अनुदान सहयोग गरेको थियो । त्यसयता उद्योगको संचालन, प्राविधिक क्षमता विकास, बजार व्यवस्थापन, पूर्वाधार निर्माण र नविनतम प्रविधिका उपकरण खरिद गर्नका लागि गरिबी निवारण कोषले पनि सहयोग गरेको थियो । यस्तै खप्तडछान्ना गाउँपालिकाको गडरायमा रहेको गोर्खाली हाते कागज उद्योग, मष्टा गाउँपालिकामा रहेको हिमालयन हाते कागज उद्योग, तल्कोट गाउँपालिकाको दाँतोलामा रहेको बडीगाउँ हातेकागज उद्योग पनि विगत ५ वर्षदेखि बन्द रहेका छन् । दिगो वन व्यवस्थापन सम्बन्धी प्रमाण दिने अन्तर्राष्ट्रिय संस्था फरेस्ट स्टेवार्ड सीप काउन्सील (एफएससी) बाट प्रमाणित एशियाकै पहिलो सामुदायिक उद्योग पनि बन्द भएको छ । जयपृथ्वीन नगरपालिकाको कैलासमा रहेको मालिका हातेकागज उद्योग व्यवस्थापनको लापरवाहीका कारण तीन वर्षदेखि बन्द अवस्थामा छ । भवन जिर्ण भइसकेको छ भने कागज बनाउँदा पानी जम्मा गर्ने पोखरीहरु भत्किएका छन् । यस्तै उद्योग रहेका अन्या सामग्रीहरु पनि क्षतिग्रस्त अवस्थामा छन् भन ेकतिपय महत्वपूर्ण सामग्रीहरु चोरी भएका छन् ।

२०५६ सालमा कैलासका स्थानीय र एन्साबको पहलमा यो उद्योगको स्थापना भएको थियो । विनायक पिमिडाँडा सामुदायिक वनमा आवद्ध २ सय ५० उपभोक्ताको सेयर समेत रहेको उद्योग बन्द हुँदा झण्डै एक करोड बराबरको स्थानीय समुदाय र विभिन्न दातृ संस्थाहरुको लगानी खेर गएको छ । उद्योग सञ्चालन भएदेखि हालसम्म एन्साबले विभिन्न शिर्षकमा ५० लाख, जडिबुटी व्यवस्थापनमा काम गर्ने अमेरिकी कम्पनी अवेदाले १० लाख, नेपालकै जडिबुटीको कारोबार गर्ने कम्पनी हिमालयन बायोट्रेड लिमिटेडले पाँच लाख, बहुसरोकारबाला वन कार्यक्रमले १३ लाख र स्थानीयको श्रमदान गरी १ करोड भन्दा बढी रकम उद्योगमा लगानी भइसके पनि व्यवस्थापनको लापरवाहीले उद्योग धरासायी भएको उद्योगमा स्थापनाकालदेखि काम गर्दै आएका गोविन्द कामीले बताए । उनले भने, “यो उद्योगले स्थानीयलाई रोजगारी मात्रै दिएको थिएन । जिल्लाको प्रतिष्ठा पनि कमाएको थियो । आएको अनुदानमा आँखा गाड्ने, उत्पादनको हिसाबकिताब स्पष्ट नगर्ने र समुदाय भन्दा पनि सीमित व्यक्तिले मनोमानी गर्दा उद्यो बन्द भयो ।” ‘फरेस्ट स्टेवार्ड सीप काउन्सील (एफएससी)’ ले २०६४ सालमा यस उद्योगलाई एशिया कै पहिलो सामुदायिक उद्योगको रुपमा प्रमाणिकरण गरेपछि यो उद्योग चर्चामा आएको थियो । दिगो तरिकाले व्यवस्थापन गरेको वन पैदावार प्रयोग गरी सञ्चालन गरिएको यस उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी तीन सय बढीले रोजगारी पाएका थिए । उ

द्योग बन्द भएपछि लगानीमात्रै खेर नगएर रोजगारी पनि खोसिएको स्थानीयको गुनासो छ। यहाँ उत्पादित नेपाली हाते कागज जापान, कोरिया, जर्मनीलगायत तेस्रो मुलकमा निर्यात हुने गरेको थियो। प्रत्येक वर्ष कागज बिक्रीबाट भएको नाफा सेयर सदस्यलाई वितरण गर्ने भनिएको भए पनि एक पटक मात्रै वितरण गरीएको स्थानीय बताउँछन्। सञ्चालन भएको दुई वर्ष पछि सेयरको आधारमा १ हजार देखि १० हजार रुपैयाँसम्म रकम वितरण भएको थियो। व्यवस्थापन पक्षकै कमजोरीका कारण उद्योग धरासायी भएको उद्योगका प्रबन्ध सञ्चालकसमेत रहेका जयपृथ्वी नगरपालिका–१ का वडा अध्यक्ष गगनबहादुर सिंहको भनाइ छ। “म वडा अध्यक्षमा निर्वाचित भएदेखि उद्योगमा ध्यान दिन सकेको छैन । अरुलाई जिम्मा दिँदा उनीहरुले इमान्दारीपूर्वक काम गरेनन्” उनले भने, “एसिया कै पहिलो सामुदायिक उद्योग पनि बन्द हुनु राम्रो पक्ष होइन । यो उद्योगलाई पुनः सञ्चालनमा ल्याउनका लागि पहल भइरहेको छ ।”

प्रतिक्रिया दिनुस