
बैतडीको पुर्चौडी नगरपालिकामा पुर्चौडी युथ क्रिकेट क्लबद्वारा आयोजना गरिएको पुर्चौडी नगरस्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता “पुर्चौडी प्रिमियर लिग (PPL) सिजन–१” सफलतापूर्वक सम्पन्न भएको छ। अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धाबीच सम्पन्न फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै KYC ले उपाधि जित्न सफल भएको हो।
बैशाख २ गते भव्य रूपमा उद्घाटन गरिएको उक्त प्रतियोगिता विभिन्न टिमहरूको सहभागितासहित सञ्चालन भएको थियो। सुरुदेखि नै खेलहरू प्रतिस्पर्धात्मक र दर्शकका लागि आकर्षक बनेका थिए भने खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरेका थिए।आज बैशाख १० गते सम्पन्न समापन कार्यक्रममा क्लबका अध्यक्ष वीर बहादुर गडालको अध्यक्षता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुर्चौडी नगरपालिकाका नगर प्रमुख दीपक बहादुर बमको गरिमामय उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा निवर्तमान नगर प्रमुख रण बहादुर कुँवर तथा पुर्चौडी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गणेश बहादुर गडालको सहभागिता रहेको थियो।समापन समारोहलाई व्यवस्थित ढंगले सञ्चालन क्लबका उप–सचिव राम सिंह धामीले गर्नुभएको थियो। कार्यक्रममा अतिथिहरूले विजेता तथा उपविजेता टिमलाई पुरस्कार तथा ट्रफी प्रदान गर्दै खेलाडीहरूको हौसला बढाएका थिए।
यस प्रतियोगिताले पुर्चौडी क्षेत्रमा क्रिकेट खेलप्रति बढ्दो आकर्षणलाई अझ मजबुत बनाएको छ। साथै युवाहरूमा खेलकुदमार्फत अनुशासन, एकता र आपसी सद्भाव बढाउने महत्वपूर्ण सन्देश दिएको छ। स्थानीय स्तरमा यस्ता प्रतियोगिताले खेल प्रतिभा पहिचान र विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
उक्त प्रतियोगितामा प्रमुख प्रायोजकको रूपमा प्रकाश सुनचाँदी पसल को महत्वपूर्ण सहयोग रहेको थियो।आयोजक पुर्चौडी युथ क्रिकेट क्लबले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, खेलाडी, दर्शक तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ भव्य र व्यवस्थित रूपमा प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।


