करेन्ट लागेर मृत्यु भएका दार्चुलाको दुहुँ गाउँपालिका ३ का पदमबहादुर बमको शव परिवारले जिम्मा लिएको छ। नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रको लापारवाहीको कारण आइतबार करेन्ट लागेर बमको मृत्यु भएको भन्दै पीडित परिवारले शव बुझ्न मानेका थिएनन् ।सोमबार विद्युत प्राधिकरणका कर्मचारी, गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, र पीडित परिवारबीच सहमति भएपछि शवको पोष्टमार्टम गरिन लागेको हो ।
मौरीको घार हेर्न गएका बमलाई राताकाठा सडक नजिकै रहेको बुदाली इजरमा करेन्ट लागेको हो । विद्युत प्राधिकरणले क्षतिपूर्तिबाफत ५ लाख रुपैयाँ वा घरको एकजनालाई रोजगारी लगाउन सकिने बताएपछि परिवारले जागिर माग गरेको दुहुँ ३ का वडाअध्यक्ष लालबहादुर बमले बताए । मृतकका दुई छोरा र एक श्रीमति छन् । परिवारले एक छोरालाई विद्युत प्राधिकरणले रोजगारी दिनुपर्ने र अर्को छोरालाई गाउँपालिकाले हेरिदिनुपर्ने माग गरेका थिए । पीडितले विद्युतको लापारवाहीले घट्ना घटेको भन्दै बिहान शव बुझ्न नसकिने बताएका थिए । अहिले सहमति पछि शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल दार्चुला ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले बताए ।