कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै बैतडीमा स्वास्थ्य सुरक्षा कडाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आउँदै गरेको होली पर्व भीडभाड नगरी खेल्न आग्रह गरेको छ। यस्तै‚ घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ। प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जारी विज्ञप्तिमा प्रशासनको निर्देशन पालना नगरे संक्रामक रोग ऐनबमोजिम कारवाही गरिने जनाइएको छ।

सूचनामा भीडभाड भएको ठाउँमा जानुपरे अनिवार्य मास्क प्रयोग गर्नुपर्ने‚ भौतिक दूरी कायम गर्नुपर्ने‚ सेनिटाइजर प्रयोग गर्न आग्रह गरिएको छ। भारतसँग सीमा जोडिएकाले भारतबाट आउने नागरिकको एन्टिजोन विधिमार्फत परीक्षण गर्न थालिएको छ। स्वेदश आउनेको अभिलेख राखी आवतजावतलाई व्यवस्थित बनाउन थालिएको छ। कोभिड १९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालन आएका क्वारेन्टाइन‚ आइसोलेसनलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्र सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी थाल्न पनि स्थानीय तहलाई आग्रह गरिएको छ।

यस्तै‚ विद्युतीय सञ्चारमाध्यमबाट कोभिडसम्बन्धी चेतनामुलक सन्देश प्रशारण गर्न भनिएको छ। बैतडीमा हालसम्म ६४२ जनामा कोरोना पुष्टि हुँदा दुईजनाको मृत्यु भइसकेको छ। हालसम्म १६ हजार बढीलाई कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज दिइएको छ।

प्रतिक्रिया दिनुस