कैलालीको गौरीगंगा नगरपालिका –९ जरही कटान र शान्तिपुर गाउँ जोड्ने झोलुङ्गे पुल उद्घघाटन गरिएको छ। नगर प्रमुख भिम बहादुर देउवाले पुलको आईतबार उद्घघाटन गरेका हुन्। पुल उद्घघाटन गर्दै नगरप्रमुख देउवाले स्थानीयको माग अनुसारको पुल बनेको बताए। झोलुङ्गे पुलको रेखदेख संरक्षण मर्मतसम्भारमा स्थानियले पनि ध्यान दिनुपर्ने उनले बताए।

कटैनी खोलामा झोलुङ्गे पुल बने पछि स्थानीय बासिन्दा हर्षित भएका छन्। विगतमा पुल नहुदा बर्षायाममा मेलापात गर्न तथा वनमा घासँ दाउरा गर्न ४ किलोमिटर सम्मको दुरि हिड्नु पर्ने अबस्थाको अन्त्य भएको स्थानीय कमल विकले बताए। झोलुंङ्गे पुलले खोला वारिपारिका स्थानीयहरुलाई खेतीपाती मेलापात गर्न सहज हुने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष थिर प्रसाद न्यौपानेले बताएका छन् । वर्षेनी गाउँ बस्तीमा योजना माग हुदा पहिलो प्राथमिकतामा झोलुङ्गे पुलको माग हुने गरेकाले स्थानीय जनताको माग अनुसार पुल बनाउन सकिएको वडा अध्यक्ष हरि प्रसाद तिवारीले बताए।

अन्य समयमा खासै असहज नभएपनि वर्षाको समयमा ओहोरदोहोर मेलापात गर्न समस्या हुने गरेकोमा अब सहज हुने न्यौपानेले बताए। सुदूरपश्चिम सामुदायिक मंचको सामाजिक तथा प्राविधिक सहयोगमा नगरपालिकाको ५५ लाख ७५ हजार ३ सय रुपियाँ बराबरको लागतमा पुल निर्माण सम्पन्न भएको हो। पुल बनेसँगै स्थानीय ७२ घर परिवार लाभान्वित हुने वडा अध्यक्ष हरि प्रसाद तिवारीले बताएका छन्।

प्रतिक्रिया दिनुस