भारतमा एकैदिन १ लाख ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन्। गत डिसेम्बरमा दिनमा १५ हजारको संख्यामा मात्रै संक्रमित देखिने गरेका थिए। तर सोमबारको आँकडा त्यसयताकै सर्वाधिक रहेको मन्त्रालयको भनाइ छ। योसँगै हालसम्म भारतमा १ करोड ३५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।

जसमध्ये १ करोड २१ लाख ५६ हजारभन्दा बढी निको भइसकेका छन्। सोमबार कोरोनाकै कारण भारतमा ९ सय ४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। हालसम्म १ लाख ७० हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ। यो संख्या कूल संक्रमितको १.२६ प्रतिशत हो। केही सातायता कोरोना संक्रमण व्यापक भइरहेको भारतमा खोप अभियानलाई समेत गतिशील बनाइएको छ। मन्त्रालयका अनुसार १० करोड ४५ लाख २८ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइसकिएको छ।

अन्तिम संस्कारका लागि घन्टौ लाइन

कोरोना संक्रमणको पछिल्लो लहरका कारण भारतका विभिन्न राज्यमा औषधि–उपचारमा मात्रै होइन, अन्तिम संस्कारमा समेत समस्या खडा भएको छ । उत्तर प्रदेश र मध्य प्रदेशका धेरै जिल्लामा संक्रमितको शव जलाउन घन्टौसम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको बताइएको छ । स्थानीय पत्रकार समिरात्मज मिश्रले बीबीसीसँग भनेका छन्, ‘उत्तर प्रदेशमा जुन अवस्था देखिएको छ यो सरकारी आँकडाभन्दा फरक छ। कोरोना संक्रमणका कारण ज्यान गुमाएकाको अन्त्येष्टि गर्न उनीहरुका परिवारले टोकन लिएपछि ८–१० घन्टासम्म पालो कुर्नुपरिरहेको छ ।’

उत्तर प्रदेशको राजधानी लखनऊस्थित बैकुन्ठ धाम विद्युत शवदाह गृहमा दिनमै करीब २५ शवको अन्तिम संस्कार भइरहेको छ । जसका लागि घन्टौ लाइनमा बस्नपर्ने अवस्था रहेको त्यहाँका कर्मचारी मुन्ना सिंहले समेत पुष्टि गरेका छन् । विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गर्न करीब ४५ मिनेट समय लाग्छ । तर सरकारी तथ्यांकअनुसार अप्रिलमा लखनऊमा दैनिक औसतमा ५–८ जनाको मात्र मृत्यु भइरहेको छ । उक्त तथ्यांकलाई बैकुन्ठ धाम शवदाह गृहकै तथ्यांकले गलत सावित गरिदिन्छ । सिंहले भनेका छन्, ‘होलीपछि दैनिक अन्तिम संस्कार गर्नेको संख्या लगातार बढिरहेको छ। अधिकतम शव स्थानीय केजीएमयू अस्पतालबाट आइरहेका छन्। जसका लागि बिहान ३÷४ बजेसम्मको समय लागिरहेको छ।’

यहाँ स्वास्थ्य मापदण्ड मालना गर्दै अधिकांश कोरोना संक्रमितको मात्रै अन्तिम संस्कार भइरहेको छ। राज्यको मुख्य चिकित्सा अधिकारीका अनुसार लखनऊमा मात्रै पछिल्लो ३ दिनमा २० जना कोरोना संक्रमितको मात्रै मृत्यु भएको छ। तर स्थानीय शमसान घाटहरुमा ६० जनाभन्दा बढी संक्रमितको शव जलाई सकिएको छ। लखनऊका उच्च नगर आयुक्त अमित कुमारका अनुसार गुल्लारा घाट र बैकुन्ठ धाममा गरी ३ वटा शवदाह मेसिन छन्। केही दिनयता संक्रमितको शवको चाप बढ्दै जाँदा अन्तिम संस्कारका लागि २–३ घन्टासम्म कुर्न परिरहेको छ। मध्यप्रदेशको राजधानी भोपालमा समेत संक्रमितको शव थुप्रिन थालेका छन्।

स्थानीय भदभदा विश्राम घाटमा आइतबार मात्रै कोरोनाका कारण ज्यान गुमाएका ३१ जनाको अन्तिम संस्कार गरिएको छ । यहाँ पनि कम्तिमा २ घन्टासम्म पालो पर्खिनुपरेको मृतकका परिवारलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । ‘स्थिति लगातार बिग्रिरहेको छ,’ भदभदा विश्राम घाटका प्रबन्धक लाड सिंहले बीबीसीसँग भनेका छन्, ‘अवस्थालाई नियन्त्रणमा राख्न एकै समयमा कैयौं शव जलाउने गरिएको छ। यसअघि तोकिएका स्थान अपुग भएपछि नयाँ स्थान बनाएर समेत अन्तिम संस्कार गरिएको छ।’

प्रतिक्रिया दिनुस