यो वर्ष बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ। लगातार खडेरी परेर सुख्खा भएका वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ। जिल्लाका १५ बढी सामुदायिक वनको १ सय ५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए। जिल्लाको कुल क्षेत्रफलको ६२ प्रतिशत वन क्षेत्र रहेको छ। यहाँका अधिकांश वनजङ्गलहरूमा आगलागी भएको दोगडाकेदार गाउँपालिका(३ का गणेश विष्टले बताए। आगलागीका कारण काँचो रुखहरू समेत जलेर नष्ट भएका छन्। अन्य ठाउँको भन्दा बढी सल्लेरी वनहरूमा आगलागी भएको उनले बताए।
सामुदायिक वनहरूमा आगलागी हुँदा स–साना बोटबिरुवा जलेर खरानी भएका स्थानीयबासीले बताएका छन्। वनमा भएको आगलागीका कारण वातावरण समेत प्रदूषण भइरहेको छ। वनजङ्गलमा लागेको आगोले वर्षौंसम्म समस्या निम्त्याउने डिभिजन वन कार्यालयका प्रमुख पराजुलीको भनाई छ। खडेरीका कारण वनजङ्गलमा रुखहरू आफैँ सुकिरहेका बेला आगलागीका कारण झन् समस्या भएको उनले बताए।आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घाँस राम्रो हुन्छ भन्ने गलत सोचका कारण वनजङ्गलमा डढेलो लगाउने क्रम बढ्दै गएको छ। वनजङ्गलमा लागेको डढेलोका कारण पानीका मुहानहरू समेत सुक्दै गएका स्थानीयहरूले बताएका छन्। डढेलोबाट थप समस्या निम्तने भएकोले सावधानी अपनाउन वन कार्यालयको आग्रह रहेको छ।