त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षाको लागि परीक्षा केन्द्र हटाएपछि यहाँका विद्यार्थीले आपत्ति जनाएका छन्। वैशाख ५ गतेदेखि सञ्चालन हुने स्नातक तह दोस्रो वर्षको परीक्षाका लागि जगन्नाथ बहुमुखी क्याम्पसमा रहेको परीक्षा केन्द्र सारेपछि यहाँका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन्।

विश्वविद्यालयले दोगडाकेदार ३ खोचलेकमा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र तोकेपछि विद्यार्थीले विरोध गरेका हुन्।विद्यार्थीहरूले साबिककै ठाउँहरूबाट परीक्षा सञ्चालन हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएका छन्। जिल्लाका विभिन्न क्याम्पसहरूमा अध्ययनरत स्नातक तह दोस्रो वर्षका विद्यार्थीहरूले हालसम्म त्रिविका परीक्षाहरू सदरमुकाम गोठलापानीमै भइरहेको अवस्थामा अहिले परीक्षा केन्द्र सार्दै दोगडाकेदार गाउँपालिकाको श्रीकोट बहुमुखी क्याम्पस कायम गरिएको निर्णयप्रति असन्तुष्टि जनाउँदै त्रिभुवन विश्व विद्यालय उपकुलपतिको कार्यालय, त्रिभुवन विश्व विद्यालय रजिष्टारको कार्यालय, त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रणको कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय र अन्य निकायहरूको ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

त्रिविले बैतडी सदरमुकाममा रहेको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, निगलाशैनी बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस, रौलाकेदार बहुमुखी क्याम्पसको परीक्षा केन्द्र श्रीकोट बहुमुखी क्याम्पस खोचलेक कायम गरेको छ। आवश्यक पूर्वाधारको अभाव, खान बस्नलगायत सुरक्षाका दृष्ठिकोणले पनि उपयुुक्त ठाउँ नभएकाले श्रीकोट बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र निर्धारण गरिनु दुखःद भएको जगन्नाथ बहुमुखी क्याम्पस गोठालापानीमा अध्यनरत विधार्थी निर्मला टेरको भनाई छ। साबिकको परीक्षा केन्द्र हटाएर अन्यत्र निर्धारण गर्ने त्रिविको निर्णयमा आम विद्यार्थीहरू रुष्ट भएका उनले बताए। खोचलेकमा परीक्षा हुँदा विद्यार्थीहरू समस्यामा पर्ने निश्चित छ भन्दै विद्यार्थी नरेन्द्र साउदले त्रिविको निर्णयले अझ बढी समस्या छात्राहरूलाई हुने बताए। सरकारले पछिल्लो समय एक ठाउँमा २५ जनाभन्दा बढी जम्मा हुन नपाइने नियम लगाएको अवस्थामा पाँचवटा क्याम्पसको परीक्षा केन्द्र एकै ठाउँमा राख्नु स्वास्थ्य सुरक्षाका दृष्ठिकोणले पनि अनुपयुक्त छ भन्दै उनले केन्द्र फेरबदलले यहाँका अधिकांश विद्यार्थी परीक्षा नै नदिने अवस्थामा पुगेका बताए।

प्रतिक्रिया दिनुस