ओखलढुंगाको लिखु गाउँपालिका–८ मा गएराति चट्याङ पर्दा गाउँपालिका अध्यक्ष गोविन्द पौडेल र वडाध्यक्ष विशाल पौडेलका तीनवटा घर ध्वस्त भएका छन् । ठूलो हावाहुरीपछि मध्यराति १ बजे परेको चट्याङ आफ्नो घरको कोठामा परेपछि तीनवटा घर ध्वस्त भएको अध्यक्ष पौडेलले बताए ।
टारकेराबारीस्थित गाउँपालिका अध्यक्षको घर र उनका सहोदार भाइ सोही वडाका वडाध्यक्ष विशालको घर एल आकारमा बनाइएका थिए । भूकम्पपछि बनेको अर्को एउटा नयाँ घर समेत चट्याङबाट क्षतिग्रस्त भएको अध्यक्ष पौडेलले जानकारी दिए । मान्छे नसुत्ने भएकाले आफ्नो घरमा मानवीय क्षति नभएको र भाइको घरमा भागदौड हुँदा बुहारीको खुट्टा फ्याक्चर भएको उनले बताए । अध्यक्ष गोविन्द पौडेल भने गाउँपालिका केन्द्र यसममा बस्ने गरेका छन् ।
चट्याङ परेपछि आगलागी भएको थियो ।भन्ज्याङस्थित घरमा चट्याङपछिको आगलागीले घरभित्र रहेका नगद जिन्सी लगायत सबै भौतिक सामाग्री नष्ट भएको उनले बताए । ठूलो आवाजसहित परेको चट्याङ र आगलागीले स्थानीय वासिन्दा त्रासमा रात काट्न बाध्य रहे ।