फाइल।प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्व र लोकतन्त्रको जगमा आर्थिक समृद्धिको अभियानलाई तीव्र पार्ने आफूहरुको प्रयासलाई पछिल्ला घटनाक्रमले प्रतिकुल प्रभाव पारेको जनाएका छन् ।सोमबार एमालेको १० औं महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्षका हैसियतले पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले प्रचण्ड–माधव नेपालहरुले निरन्तर असहयोगका कारण प्रतिनिधिसभा विघटनको बिन्दुसम्म परिस्थिति पुगेको जिकिर गरेका छन् ।

तर प्रतिनिधिसभा पुनर्स्थापना भए पनि समस्या यथावत् रहेको उनको भनाइ छ । देशको आवश्यकतालाई सम्बोधन गर्ने खालको, जनताका आकांक्षा पूरा गर्ने र विकासका आवश्यकतालाई अगुवाई गर्ने खालको भूमिका संसदले निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘देशको आवश्यकता राजनीतिक स्थायित्व हो, जनताको आवश्यकता सामाजिक आर्थिक रुपान्तरण र समृद्धि हो,’ राजनीतिक प्रतिवेदनमा ओलीले भनेका छन्, ‘तर देश र जनताको चाहना र वर्तमान संसदको अंकगणित मिलिरहेको छैन ।’

ओलीले कतिपय नेताहरुको अभिष्ट र जनताको चाहनामा पनि तालमेल नमिलेको उल्लेख गरेका छन् । राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘देश र जनताको आवश्यकतालाई बदल्न मिल्दैन, यदि त्यस आवश्यकतासँग संसदको अंकगणित र संरचना मिलेन भने, कतिपय नेताहरुको अभिष्ट र स्वार्थ मिलेन भने त्यसलाई बदल्न सकिन्छ, बदल्नुपर्छ ।’

प्रतिक्रिया दिनुस