महाकाली अस्पताल कोरोना संक्रमितले भरिएको छ। पछिल्लो एक सातायता संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै अस्पताल संक्रमितको संख्याले भरिएको हो। कञ्चनपुरको गड्डाचौकी नाका भएर दैनिक सयौँ नेपाली स्वदेश फर्कन थालेसँगै संक्रमणको जोखिम पनि बढ्न थालेको छ। महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले कोरोनाका लागि छुट्ट्याइएका ५० बेडमध्ये ४३ बेडमा संक्रमित भर्ना भएको बताए ।

अस्पतालमा हाल ६ आईसीयू बेड रहेको र सबैमा कोरोनाकै संक्रमित रहेको उनले बताए। अस्पतालले आठ आईसीयू बेड थप्न पहल अगाडि बढाएको उनको भनाइ छ। ११ भेन्टिलेटरमा सातवटा सञ्चालनमा छन्। तर, थप आईसीयू सञ्चालन गर्दा ३० देखि ४० जना जनशक्ति आवश्यक पर्ने र त्यो अस्पतालसँग उपलब्ध नभएको जोशी बताउँछन् । अस्पतालमा अक्सिजन प्लान्ट भए पनि संक्रमणको दर अहिलेकै कायम रहे अक्सिजनको समेत अभाव हुन सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुस