१२ वैशाख, महेन्द्रनगर–बझाङको धार्मिक बान्निकी चैतली मेला रोक्नका लागि जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गरेको छ। कोरोनाको दोस्रो लहर ग्रामीण बस्तीमा फैलन सक्ने खतराई मध्यनजर गर्दै रोकथामका लागी मेला रोक्न प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको हो।
प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी नेपाल सरकारले गरेको निर्णयलाई पालन गर्नका लागी उक्त मेला रोक्न शशत्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिए। पूजा आराधना मात्रै गर्न मिल्ने गरी स्थानीय व्यवस्था मिलाउन स्थानियतहलाई समेत सचेत तुल्याइएको उनले बताए। उनले भिडभाड कम नभए नियन्त्रणमा लिइने चेतावनी समेत दिएका छन्। सरकारले २५ जना भन्दा बढी भिडभाड नगर्न आदेश जारी गरेको छ। तर मेला हेर्न भने दैनिक हजारौँ भक्तजन मन्दिर पुग्ने गरेका छन्। जसलाई नियन्त्रणमा लिन प्रारम्भमा सम्झाउने काम भइरहेको र नमाने नियन्त्रणमा लिई कारबाही गरिने बझाङ प्रहरीले जनाएको छ।
परापुर्वकालमा महिषासुर दानवले बान्नी मष्टा देवता सँग युद्ध गरी मस्टालाई पासोमा पारेको र मस्टालाई दानवको पासो बाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भई महिषासुरको वध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गर्छ ।
होली पुणिर्माको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पूर्णिमा सम्म लाग्ने गर्दछ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरू चोखो निम्तो भएर व्रत बस्ने गर्छन् । सुर्मा देवीले भाला प्रहार गरी दानवको वध गरेको प्रतिकका रूपमा चैत्र औँसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा हिँडाउने गरिन्छ । झन्डै २५÷३० मिटर लामो कांकरलाइ मानिसहरूले समातेर ३ सय मिटर जति हिँडाउने गरिन्छ ।
यसरी हिँडाएर ल्याएको कांकर लाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाहरू बिच भकुन्डो खेल्ने प्रचलन रहेको छ । राक्षस लाई मारी सकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाइ विजय उत्सव मनाएको किंवदन्ती छ । यसरी काकंर हिँडाएको र भकुन्डो खेलेको हेर्नका लागी बझाङ जिल्ला लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौँ मानिसहरू छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ को बान्नी चौरमा उपस्थित हुने गर्दछन् ।