कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयका तीन भवन निर्माण कार्यको भुक्तानी नपाएको निर्माण व्यवसायीले गुनासो पोखेका छन । ६ महिना अघि काम सम्पन्न गरेपनि विश्वविद्यालयले भुक्तानी नदिएको निर्माण व्यवसायीको गुनासो छ ।

आर्थिक बर्ष ०७७÷०७८सालमा विश्वविद्यालयको केन्द्रीय कार्यालय, ईन्जिनियर विभाग र व्यवस्थापन विभागको माथिल्लो तला निर्माण गरेका व्यवसायीले काम सकेपनि समयमै भुक्तानी नपाएको गुनासो पोखेका छन ।

कुमार अमृत जेभीले केन्द्रीय कार्यालयको प्रशासनिक भवन, एमके बिल्र्डस एण्ड कन्स्क्ट्रक्सन प्रालिले ईन्जिनियर भवन र प्रशंसा कन्स्क्ट्रक्सन प्रालिले व्यवस्थापन भवन निर्माणको जिम्मा पाएको थियो । तीनै निर्माण कम्पनीले गत असोजमै काम सम्पन्न गरेपनि भवन हस्तान्तरण बिनै विश्वविद्यालयले संचालन गरेको समेत उनीहरुले गुनासो पोखेका छन । कुमार अमृत जेभीले १करोड ४५ लाख, ५९ हजार, प्रशंसा कन्स्क्ट्रक्सन प्रालिले १करोड, ४६ लाख, ४५ हजार र एमके बिल्र्डस एण्ड कन्स्क्ट्रक्सन प्रालिले १करोड २०लाख, ४९हजार अन्तिम बिल भुक्तानी पाएका छैनन ।

एमके बिल्र्डस एण्ड कन्स्क्ट्रक्सन प्रालिका संचालक लोक बहादुर ठगुराठीले तीनै निर्माण व्यवसायीले समयमै काम सम्पन्न गरेपनि भुक्तानी दिन विश्वविद्यालयले आलटाल गरेको बताए । ‘हामीले काम सम्पन्न गरेको ६महिना बढि भईसक्यो, तरपनि भुक्तानी पाएनौँ, ‘उनले भने, ‘हामीमाथि अन्याय भयो, यति अन्याय हुँदा पनि हाम्रो अधिकार बारे कसैले सोचिदिएन ।’ निर्माण शुरुवातदेखि नै विश्वविद्यालयका केही कर्मचारी, पदाधिकारीले अनावश्यक निहुँ खोजेर भुक्तानी रोकिदिएको उनको दुखोसो छ । ‘विश्वविद्यालय भित्रै उहाँहरुविचमै केही कुरा मिलेन, त्यसको प्रभाव हामीमाथि थापियो, ‘उनले भने, ‘भुक्तानी नपाएपछि हामी अन्यायमा परेका छौँ ।’ निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले गरेकोे कामको एक साताभित्रै भुक्तानी नगरे आन्दोलनको चेतावनी दिएका छन । ‘हामीले सम्झौता अनुरुप काम सम्पन्न गरेका छौँ, तरपनि विश्वविद्यालयका केही मान्छे भुक्तानी दिन निहुँ खोजिरहेका छन, ‘उनले भने, ‘हस्तान्तरण नहुँदै प्रयोग गरिएको छ, यो पनि अन्याय नै हो ।’ टीकापुर बहुमुखी क्याम्पसको भवन निर्माणको भुक्तानी गर्ने तर आफुहरुको भुक्तानी रोकिएको अध्यक्ष भट्टले आश्चर्य प्रकट गरेका छन ।

रजिष्ट्रार यज्ञराज पाठकले आफ्नो कार्यकाल सकिने बेला जाँदाजाँदै अनावश्यक भुक्तानी दिईरहेको भन्दै तीन विद्यार्थी संगठनले लेखा, प्रशासन र रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरेका छन । समाजवादी निकट अनेरास्ववियु, बहुमत निकट क्रान्तिकारी र राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनले तालाबन्दी गरेपछि कामकाज प्रभावित भएको विश्वविद्यालयले जनाएको छ ।

तत्तकालिन रजिष्ट्रार यज्ञराज पाठकले तीनै निर्माण व्यवसायीको भुक्तानी प्रकृयामा अघि बढेको बताए । उनले विश्वविद्यालयबाटै निर्माण व्यवसायीलाई भुक्तानी दिन ढिलाई भएको स्वीकार्दै भुक्तानी दिने विषय कार्यकारीबाटै स्वीकृत भएको बताए । ‘अहिले लेखा सहितका कार्यालयमा तालाबन्दीले भुक्तानी रोकिएको छ, ‘उनले भने, ‘नियमानुसार काम गरेका सबैको भुक्तानी हुन्छ ।’ निर्माण व्यवसायीले खुलाउन नचाहेपछि कतिपय विश्वविद्यालयका कर्मचारी, प्राध्याकहरुले नै कमिसन नपाएपछि ६ महिना भुक्तानी रोकिएको र अहिले आएर मात्रै गर्न लागेको समेत दावि गरिरहेका छन । दीक्षान्त समारोहमा नास्तादेखि टेण्टमा कमिसन खाने विश्वविद्यालयका केही जिम्मेबार कर्मचारी, पदाधिकारीले करोड करोडको निर्माण कार्यमा खान खोजेकै कारण बबण्डर मच्चिएर विद्यार्थीदेखि निर्माण व्यवसायी आन्दोलित हुन बाध्य भएको चर्चा गर्न लागेका छन ।

 

प्रतिक्रिया दिनुस