महेन्द्रनगर-जिल्ला अस्पताल बैतडीमा अक्सिजनको अभाव भएको छ। कोभीडका बिरामीहरु बढ्दै गएपछि अस्पतालमा अक्सिजनको अभाव भएको हो। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले अस्पतालमा १० जना संक्रमितको अक्सिजन सपोर्टमा उपचार भईरहेको बताए। अक्सिजन आवश्यक पर्ने बिरामीहरुलाई अब भर्ना गर्न नसकिने र रेफर गर्नुको विकल्प नभएको उनले बताए। उनले भने,–‘अस्पतालमा भएका अक्सिजन सिलिण्डरहरु खाली भएका छन अब अक्सिजन आपूर्ती हुन सकेको छैन।’

जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएसंगै कोरोनाका बिरामीहरुलाई बाहिर रेफर गर्नुपरीरहेको डा. जोशीले बताए। कसैसंग अक्सिजन सिलिण्डर भएमा अस्पताललाई उपलब्ध गराउन पनि उनले जानकारी दिए। कोरोनाको दोश्रो लहर चलेपछि जिल्ला अस्पताल बैतडीमा अहिले सम्म ३१ जना उपचारका लागि भर्ना भएका छन् । ती मध्ये ९ जनाले कोरोना जितेका छन् भने ७ जनालाई अन्यत्र रेफर गरिएको छ । यस्तै जिल्ला अस्पतालमै कोरोनाका कारण दुईजनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुस