सुदूरपश्चिम प्रदेश सरकारले गत मंसिरमा जिल्ला अस्पताल बैतडीलाई उपलब्ध गराएको भेन्टिलेटर मेसिन फिर्ता मागेको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै उक्त निर्णयप्रति आपत्ति भएको जनाएको हो।

जिल्ला अस्पतालमा दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगविहिन भएको भन्दै प्रदेश सरकारले जनशक्ति भएको ठाउँका लागि फिर्ता गर्न आग्रह गरेको थियो। प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा भेन्टिलेटर फिर्ता गर्नुको साटो जनशक्ति व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ। नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा महामारीको समयमा अत्यावश्यक औषधि, जनशक्ति, अक्सिजन लगायतको व्यवस्थापन गर्न आग्रह गरिएको छ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेका बेला भेन्टिलेटर मेसिन फिर्ताको कुरा आउनु दुःखद भएको ज्ञापन पत्रमा भनिएको छ। विगत १५ महिनादेखि कोभिड नियन्त्रणका नाममा अर्बौ घोटालामा मुछिएका केन्द्रदेखि प्रदेश सरकार आफ्नो कुर्सी र सत्ताको खेलमा लिप्त भएको अवस्थामा जिल्ला अस्पतालमा रहेको भेन्टिलेटर जनशक्तिको अभावको कारण देखाउँदै फिर्ता माग्नुप्रति ध्यानकर्षण भएको जनाएको छ। जनताको स्वास्थ्यसँग सरोकार राख्ने बिषयमा ध्यान दिन प्रदेश सांसद तथा संघीय सांसदहरुको समेत दबाबमूलक ध्यानाकर्षण गरिएको ज्ञापन पत्रमा उल्लेख छ।

प्रदेश सरकारले गत मंसिरमा उपलब्ध गराएको भेन्टिलेटर मेसिन जिल्ला अस्पताल बैतडीमा जडान गरिएको भएपनि प्रयोगविहीन अवस्थामा रहेको छ।

प्रतिक्रिया दिनुस