काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्द धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको पहिलो क्वालिफायरमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै धनगढीले पुनरागमन जित हात पारेको हो। धनगढीका लागि मार्की प्लेअर विशाल राईले अतिरिक्त समयमा विजयी गोल गरे।

त्यसअघि लिग चरणमा पनि धनगढीले काठमाडौंलाई पराजित गरेको थियो। लिगमा सर्वाधिक ४ खेल जित्दै काठमाडौं १३ अंक जोडेर शीर्ष स्थानमा रहँदा १० अंकसहित धनगढी दोस्रो भएको थियो। पहिलो क्वालिफायर जितेपछि धनगढीलाई फाइनल अघि फाइदा पुगेको छ। धनगढीले अब शनिबार फाइनल खेल्नेछ र ३ दिनको बिश्रामसमेत पाउनेछ। काठमाडौंले पनि फाइनलका लागि अर्को अवसर पाउनेछ । बुधबार हुने ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एपसीबीचको विजेतासंग काठमाडौंले बिहीबार अर्को क्वालिफायर खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

पहिलो हाफको १६ औं मिनेटमा काठमाडौंका स्टेफेन विनोङले करिब २५ यार्डबाट गरेको प्रहार क्रस बारेमा लागेर फर्केको थियो । दोस्रो हाफको अन्तिम १५ मिनेटमा भने दुई गोल भयो । ७५ औं मिनेटमा तेज तामाङले गोल गर्दै काठाडौंलाई अग्रता दिलाएका थिए । उनले मेसोउके ओलोमोउको क्रसमा ६ यार्ड बक्सबाट हेडर मार्फत गोल गरे । धनगढीका कप्तान गोलकिपर किरणले रोक्ने अवसर नै पाएनन् । एक गोल हुनेबित्तिकै खेलको गति बढ्यो । धनगढी दुई मिनेटपछि नै बराबरी गोल फर्कायो । काठमाडौंका गोलकिपर कप्तान विकेश कुथुको गल्तीको फाइदा उठाउँदै धनगढका पुजन उपरकोटीले एक्रोब्याटिक सटमार्फत उत्कृष्ट गोल गरे । निशान खड्काको कर्नर पन्च गर्दै विकेश अघि त्यसलाई अझ बचाउन अगाडि बढेका थिए ।

तर फ्रांकलिन क्वेटा टालाको हेडमार्फत प्राप्त बलमा पुजनले उत्कृष्ट गोल गरे । इन्जुरी टाइमको चौथो मिनेटमा काठमाडौंले पेनाल्टी एरिया बाहिरबाट फ्रिक पाएको थियो । स्टेफेन विनोङ समिरको फ्रिकिक क्रस बारको ठीक माथिबाट बाहिरियो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि ३० मिनेटको समय थप गरिएको थियो । अतिरिक्त समयमा विशाल राईले निर्णायक गोल गर्दै धनगढीलाई फाइनल पु¥याए । १०८औं मिनेटमा मार्की खेलाडी विशाल राईले गोल गर्दै धनगढीलाई २–१ को अग्रता दिलाए । एक गोलले पछि परेपनि काठमाडौंले बराबरी गोल गर्ने अवसर पाएको थियो तर फिनिसिङमा चुक्दा पराजित भयो ।

प्रतिक्रिया दिनुस