जिल्ला अस्पताल बैतडीमा अक्सिजनको अभाव देखिएपछि अक्सिजन आपूर्तिका लागि जनस्तरबाटै चन्दा संकलन अभियान सञ्चालन गरिएको छ। दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाईमा जेठ २ गते सुरु भएको उक्त अभियानमा हालसम्म ८ लाख बढी लाख रुपैयाँ संकलन भइसकेको छ। हालसम्म ८ लाख ३ हजार७ सय २६ रुपैयाँ संकलन भएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठान अध्यक्ष तथा अभियन्ता विनोदबहादुर चन्दले जानकारी दिए।
कोरोना भाईरसको महामारी तीव्र रुपमा फैलिँदै गएको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएको खबर आएपछि सो अभियान सञ्चालन गरिएको चन्दको भनाइ छ। उनले भने, ‘जनस्तरबाटै चन्दा संकलन गरेर संकलन गरिएको उक्त रकम अक्सिजन आपुर्तीलगायतमा खर्च गरिरहेका छौं।’यसका साथै जम्मा भएको रकमले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेर अस्पताललाई हस्तान्तरण गर्ने तयारी भएको उनले बताए।
नेपालका थुप्रै ठाउँमा अक्सिजन सिलिण्डरका लागि कुरा गरेका भएपनि पाउन मुस्किल भयो उनले भने,‘सिंगापुरको एक कम्पनीसंग ५ वटा १० लिटरका कन्सन्ट्रेटर खरिदका लागि कुरा भइसकेको छ, केही दिनमै अस्पताललाई हस्तान्तरण र्छौ’ यसका साथै अक्सिजनसिलिण्डर भर्न, अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री र ढुवानीमा पनि प्रतिष्ठानले सहयोग गरिरहेको छ। कोरोना भाईरसका संक्रमितहरुलाई अक्सिजन अभाव भएकाले अस्पतालमा अक्सिजन खरिदका लागि सहयोग गर्ने हिसाबले यो अभियान सञ्चालन प्रतिष्ठानका आजीवन सदस्य तथा अभियन्ता महेश भट्टले बताए। उनले भने,‘यस अभियानमा सहभागी भइ सबैले सक्दो सहयोग गर्न आग्रह छ, यो महामारीको बेला तपाईको सानो सहयोगले कसैको ज्यान बच्न सक्छ’।
सहयोग गर्नुहुने महानुभावहरुले प्रतिष्ठानको राष्ट्रिय वाणिज्य बैंक बैतडीमा रहेको खाता नम्बर ४०५०१००००६९३५०१० मा रकम जमा गर्न सकिने बताइएको छ। यसैबीच जनस्तरबाटै चन्दा संकलन गरी अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराउने गरी जारी रहेको उक्त अभियानले निकै सहयोग पुगेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जाशीले बताए। प्रतिष्ठानले अक्सिजन सिलिण्डर ढुवानी, स्वास्थ्य सामग्री ढुवानी र अक्सिजन सिलिण्डर किन्न पहल गरेको छ। उनले भने,‘महामारीको बेला सहयोग आउनु निकै सकारात्मक कार्य हो।’ बैतडीमा हाल ९ सय बढी कोरोना सक्रिय संक्रमित रहेका छन् भने १३ जनाको मृत्यु भइसकेको छ।