महेन्द्रनगर–कञ्चनपुरको सुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन साहमा घरपालुवा जनावर बिरामी भई मर्न थालेका छन्। घरमा पालिएका गाई, गोरु, भैँसीमा छाला सम्बन्धी रोगले जनावर मर्न थालेका गुनासो गरिएको हो। सुक्फाँटा रानीपुरका स्थानीयका अनुसार विगत एक महिना देखी भैँसीका शरीरका रौँ खुइलिएर जाने, शरीर, खुट्टामा घाउ हुने जस्ता समस्या देखा परेको छ।
समस्या देखा परेको साता दिनमै पालुवा जनावरको ज्यानै गइरहेको गुनासो स्थानीयले गरेका छन्। गणेशपुरका स्थानीय हेमराज अवस्थीले पनि गाई, गोरुमा खुर्यान हुन थालेको बताए। उचित उपचार गर्न नपाउँदा गाई, गोरु मर्न थालेका उनले बताए। गाउँभरि उपचार सम्भव नहुँदा अर्को गाउँ देखतभुलीमा पनि जनावर मर्न थालेका उनले बताए। अहिले एकातिर कोरोना महामारीका कारण मानव जीवन नै धरापमा परेका बेला जनावरमा देखिएको समस्याले झनै पिडा दिएको उनले दुखेसो पोखे।
गाई, गोरुमा खुर्यान हुँदा स्थानीय चिन्तित बनेका बेला वडा नम्बर १ स्थित पशु सेवा कार्यालय भने बन्द रहेको छ। उपचार गर्न नपाउँदा समस्या निम्तिएको स्थानीयहरूको गुनासो छ। यता वडा अध्यक्ष हरिस विष्टले जनावरमा देखिएको रोगको उपचार गराउन पहल चाल्ने जनाएका छन्। तर के कति क्षेत्रमा समस्या परेको छ त्यो बुझ्ने काम भइरहेकाले छिट्टै आवश्यक औषधीको जोहो गरिने अध्यक्ष विष्टले जनाए।
प्रतिक्रिया दिनुस