काठमाडौं । नेपालमा प्रचलित रहेको एउटा उखान छ, ‘गाँस छोड्नु, साथ नछोड्नु’, यही उखानलाई समात्दै उसु खेलाडी किरन साउदले एउटा प्रसंशनीय काम गरेका छन् । किरनले पनि आफू नखाइ अरुको भोको पेट भरेका कयौं दिनरात छन् ।
उनले आफू सडक पेटीमा हुँदा, त्यही पेटीबाट कमाएको पैसाले पेटीमै भोकाएका कैयौंलाई आफू नखाएरै पनि उनीहरुको पेट भरिदिएका छन् ।
मात्र उनी मिडियामा आएनन् । उनी मिडियामा आउन चाहेनन् वा मिडियाको नजरमा उनमा पर्न सकेन ।
तर, यतिबेला लामो संघर्ष र मिहिनेतपछि किरनले आफ्नो पछाडि मिडियाले पछ्याउने प्रोफाइल बनाइसकेका छन् । छोटो समयमा नै नेपाली खेलकुद क्षेत्रमा सोचेभन्दा राम्रो नतिजा हाँसिल गरेका उनले आफ्नो पहिलो दक्षिण एसियाली खेलकुद साग मा नै पदक जित्न सफल भए ।
त्यही १३ औं सागमा जितेको कास्य पदकवापत किरनलाई नेपाल सरकारले दिएको तीन लाख पुरस्कारबाट ५० हजार मजदुरहरूका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।
“मैले अहिले मात्र होइन यसअघि पनि धेरै सहयोग गरेको छु । जुन विषय धेरैलाई थाहा नहुन सक्छ । पहिला पहिला पाँच दश हजारको सहयोग हुन्थ्यो होला । अहिले केही ठूलो रकम सहयोग गर्ने भनेको हुँ,” किरनले भने, “मेरो मन कोरोनाले गर्दा मात्र पग्लिएको होइन । म आफूसँग हुँदा नहुँदा सधैं सहयोग गर्छु । किनकि म सधैं भावनामा हराउने मान्छे ।”
उनले कोरोनाका कारण काठमाडौंमा रहेका मजदुर समस्यामा परेकाले एक छाक भए पनि उनीहरूको भोको पेट भरियोस् भन्ने चाहेको बताए । “मेरो चाहना एक छाक भए पनि भोको पेट भरियोस् र खान नपाएकाले खान पाओस् भन्ने मात्रै है । यसमा मेरो अरु कुनै स्वार्थ छैन,” उनले भने ।
लगनखेलस्थित आर्मी शारीरिक तालिम केन्द्रमा रहेका किरनले समस्यामा परेका मजदुरहरूलाई ब्यारेकको गेटमै आएर सहयोग लिन आग्रह गरेका छन् ।
उनले आफू बाहिर निस्कन नसक्ने अवस्था भएकाले फोन गरेर ब्यारेकको गेटमा आउन आग्रह गरे । उनले मजदुरको समस्या र परिवार संख्या हेरेर आर्थिक सहयोग गर्ने बताए ।
परिवार चलाउन इटाभट्टामा काम
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला पुर्ख्यौली घर भएका उनी हाल कन्चनपुरको शुक्लाफाटा नगरपालिका १२ कालागौडीमा बस्दै आएका छन् । सुन्दा तराईमा बस्ने, हुने–खाने जस्तो लागे पनि उनी गरिब परिवारमा हुर्के बढेका हुन् । घामपानीबाट ओत लाग्ने सानो घरबाहेक अरु केही नभएका किरनले निकै संघर्ष गरेका छन् ।
“हाम्रो परिवारमा चार जना ९बाबाआमा र दाइ, भाइ० थियौं । एक्लै कमाउने बाबा पनि शारीरिक अशक्त हुनुहुन्थ्यो । सबै थोक किन्नु पर्ने हाम्रो परिवारलाई बाबाको कमाइले खानेकुरा मात्र किन्न सकिन्थ्यो,” किरनले सुनाए, “शारीरिक अशक्त बाबाले भारतबाट कमाएको पैसाले जसो तसो परिवार चल्दै थियो । तर, उहाँले पनि परिवारलाई धेरै समय साथ दिन सक्नु भएन । मजदुरीकै शिलशिलामा भारतमै बाबाको ज्यान गयो ।”
परिवारमा ठूलो वज्रपात पर्यो । त्यसैले उनी आफुले पाएको जस्तो दुःख कसैले नपाओस् भन्ने चाहन्छन् । “हामी सधैं किनेर नै खान्छौं । खेती गर्ने जमिन छैन,” उनले भने, “मलाई लाग्छ मैले पाएको जस्तो दुःख अरु कसैले पनि नपाओस्,” उनले थपे, “हुन् त मैलेभन्दा पनि ठूलो दुःख भोगेकाहरूका कथा लुकेका होलान् । मेरो भनाइ खान र लगाउने दुःख कसैलाई नहोस् भन्ने हो ।”
पढ्ने इच्छा हुँदाहुँदै पनि उनले सहजै पढ्न सक्ने अवस्था थिएन । तर, उनले आफ्नो पढाइप्रतिको चासो भने छोडेनन् । उनले स्कुलका लागि आवश्यक सामग्रीका लागि इटाभट्टामा काम गर्न थाले । इटाभट्टामा नै काम गरेर उनले आठ कक्षासम्म पास गरे ।
हिउँदमा मात्र काम गर्न मिल्ने इटाभट्टको कमाइले पनि बिस्तारै घर परिवार धान्न गाह्रो भएपछि उनले भारत जाने निधो गरे र गए पनि ।
“कक्षा आठमा पढ्दै गर्दा इटाभट्टाको काम छोडेर म भारत गएँ । वर्षमा ८ महिना भारतमा काम गर्थें । वार्षिक परीक्षा हुनु चार महिना पहिले नेपाल फर्किन्थें अनि परीक्षा दिन्थें,” उनले भने, “त्यतिबेला म भलिबल खेल्थें । सायद भलिबल खेल्ने र कमजोर आर्थिक स्थिति भएकाले होला, स्कुलका शिक्षक शिक्षिकाहरूले पनि ठूलो सहयोग र माया गर्थे । जुन म कहिल्यै बिर्सिने छैन ।”
जसोतसो गर्दै उनले एसएलसी सके । सिद्धबैजनाथ उच्चमाध्यमिक विद्यालयबाट १२ कक्षा पनि सके । उनलाई अझै स्नातकोत्तरसम्मै पढ्ने इच्छा जाग्यो । तर, आर्थिक अवस्था कमजोर थियो । उनले जसोतसो बाटो खर्चको जोहो जर्दै काठमाडौं पुगे । अनि सुरु भयो सडक पेटीको कथा ।
बाटोको कथा
गाउँकै विद्यालयबाट १२ कक्षा पास गरेपछि उनी विस २०६८ सालमा स्नातक पढ्नका लागि काठमाडौं छिरे । काठमाडौंमा गाउँकै साथी सुरेन्द्र बोहरासँग कोठा भाडा लिएर बस्न थाले । गाउँकै दैनन्दिनी मजदुरीमा बिताएका उनलाई काठमाडौं सोचे जस्तो सहज कहाँ थियो र रु त्यसपछि उनले आफूलाई एक बाटोको पात्र सोचे र बाटोमा हिँड्न थाले ।
उनी काठमाडौंको सडक पेटीका कथाको पात्र मध्येका एक हुन् । उनले काठमाडौंमा पढ्न र पेट पाल्न फुटपाथ व्यापार सुरु गरे । फुटपाथको व्यापारले आफ्नो पेट पाल्न सके पनि कलेजको पढाइ खर्च भने तिर्न सकनेन् । काठमाडौंका महङ्गा कलेजको शुल्क तिर्न नसकेपछि पढाइ छोडे ।
जमल, रत्न पार्क, सुन्धारालगायतका सडक पेटीसँग किरनको वर्षौं लामो आत्मीय सम्बन्ध छ । उनले ती सडक पेटीमा सबेरै जुत्ता, मोजा र झोला बेचेका छन् । जहाँ उनले करिब चार वर्ष बिताए । “मैले सडकको पेटीदेखि संघर्ष गरेको छु । सडक पेटीमा बसेर साँझ–बिहान छाक टार्न जुत्ता, मोजा र झोला बेचें,” उनले आफ्नो पुरानो वृतान्त सुनाए ।
ती दिन उनले आफ्नो मात्र होइन । सडक पेटीमा रहेका धेरै भोका पेटसमेत भरेका छन् । उनले आफू नखाएरै भए पनि कयौंलाई खुवाएका छन् । “मैले सडक पेटीमा धेरैलाई सहयोग गरेको छु । कयौं मजदुरलाई सकेको सहयोग गरेको छु । त्यतिबेला दिनहुँ हुने पाँच दश हजार भए पनि आफू नखाइ अरुलाई सहयोग गरेको छु,” किरनले भने ।
आफूले सहयोग गर्दै हिँड्दा आमाको सधैं साथ रहेको उनले बताए । “मैले आर्थिक सहयोग गर्दै हिँड्दा मेरो आमाले कहिल्यै असहमति जनाउनु भएन । उहाँले आफूलाई खान नभएका बेला अरुलाई किन पैसा दिनु पर्यो पनि भन्न सक्नुहुन्थ्यो,” उनले भने, “सायद आमाले पनि दुःख भोगेको भएर होला । मेरो कामलाई सधैं हाँसेरै स्वीकार्नु भयो ।”
उनले थपे, “तीन–चार वर्षको हुँदा आमाबाबा गुमाउनुभएकी मेरी आमालाई दुःखीको व्यथा राम्रोसँग थाहा छ ।”
आफू सानै छँदा किनेर खानुपर्ने परिवार भए पनि सीमाबाट साइकलमा समान ओसार–पसार गर्नेहरूलाई घरमै बोलाएर खाना खुवाउने गरेको उनले सुनाए ।
“घरभित्र राखेर खाना खुवाउँदा आमाले कहिलै यो जात त्यो जात भन्नु भएन । चामल छैन किन बोलाइस् पनि भन्नु भएन । बरु सधैं मलाई सहयोग गर्नुभयो । सायद आमाकै दयालु छाया ममा पनि परेको हो कि जस्तो लाग्छ,” किरनले भने ।
पैसा नहुँदा भलिबल छोडे
गाउँ छोडेर काठमाडौं पुगे पनि उनलाई गाउँको भलिबल नशाले भने छोडेको थिएन । गाउँतिर टोलछिमेकमा खेलेका प्रतियोगिताहरूले उनलाई सम्झाइ रहन्थ्यो । उनले जिल्लास्तरीय प्रतियोगितासम्म खेल्ने अवसर पाए । जुन अवसर फेरि गुमाउन चाहँदैन थिए । त्यसपछि उनले दिउँसो साँझ सडक पेटीमा व्यापार गरे पनि बिहान भलिबलको प्रशिक्षण गर्ने सोचे । प्रशिक्षण केन्द्र खोज्दै उनी लगनखेल पुगे ।
उनी लगनखेल भलिबल प्रशिक्षण केन्द्रमा भर्ना पनि भए । केही समय प्रशिक्षण पनि लिए । तर, फेरि उनलाई समस्याले सतायो । प्रशिक्षण जाँदा व्यापारका लागि समय दिन सकेनन् । व्यापार नहुँदा उनले प्रशिक्षण जाने आउने गाडी भाडाको नै जोहो गर्न सकेनन् । एकेडेमीको शुल्क तिर्न नसक्ने अवस्था आएपछि तीन साताको प्रशिक्षणपछि भलिबल छोडे । त्यसपछि उनी करिब तीन वर्ष खेलकुदबाट टाढा रहे ।
उनीसँगै एउटै कोठामा बस्ने सुरेन्द्र बोहरा भने रंगशालामा उसु सिक्थे । एक दिन सुरेन्द्रले उनलाई उसु खेल्न आग्रह गरे । उनी पनि उसु खेल्न राजी त थिए । तर, पैसाको समस्या थियो । “सुरेन्द्रले एक दिन मलाई उसु खेलौं भन्यो । उसु खेल्ने म पनि इच्छुक थिएँ । तर, प्रशिक्षणको शुल्क कसरी तिर्ने भन्ने पीर अर्कोतिर थियो,” उनले भने ।
उनी सुरेन्द्रासँग रंगशाला पुगेपछि सोचेभन्दा फरक पाएँ । उनको खाइलाग्दो ज्यान देखेर प्रशिक्षक गुरु तुलसी नन्द वज्राचार्य प्रभावित भए । गुरु वज्राचार्यले प्रशिक्षण शुल्क र खेल पोसाक निःशुल्क उपलब्ध गराई दिने भनेपछि किरनले खुसी हुँदै उसु सुरु गरे । “मलाई गुरुले प्रशिक्षणको शुल्क र पोसाक निःशुल्क दिनुभयो,” किरनले भने, “गुरु मेरो शारीरिक बनावटबाट प्रभावित हुनुभएको थियो । गुरुले तिम्रो शारीरिक बनावट राम्रो छ । तिमीले मिहिनेत गर्यौँ भने एक दिन ठाउँमा पुग्ने छौ भन्नु भएको थियो । आज उनको त्यो बोलीको सम्झना हुन्छ ।”
गुरु वज्राचार्यको तारिफले आफूलाई सधैं सोच्न बाध्य बनाएको उनी बताउँ छन् । गुरुकै तारिफका कारण आफु दिनहुँ रंगशालामा पुग्ने गरेको उनले बताए । गुरुले आफ्ना लागि यतिधेरै सोचेपछि आफूले पनि केही गरेर देखाउनु पर्ने सोच आएको किरनले सुनाए । अर्का गुरु रामगोपाल महर्जनबाट आफूले धेरै आर्थिक सहयोग पाएको पनि उनले लुकाएनन् ।
छोटो समयमा नै राष्ट्रिय खेलाडी
उनी विसं २०७१ प्रारम्भबाट उसुकै लागि भनेर रंगशाला धाउन सुरुका उनले त्यही सालको अन्त्यतिर भएको राष्ट्रिय उसु च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाए । पहिलो राष्ट्रिय प्रतियोगितामा उनी आफ्नो तौल समूहमा दोस्रो भएका थिए । त्यसपछि उनको उसु च्याम्पियनसिपको यात्रा सुरु भयो ।
२०७२ वैशाख १२ गते भूकम्प गएपछि कुनै खेल कुन हुन सकेनन् । तर, उनको पहिलो प्रतियोगिताको प्रदर्शनकै कारण २०७३ सालमा आर्मी क्लबमा पुगे । उनलाई आर्मीले पूर्वाञ्चलमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुदका लागि क्लबमा लिएको थियो । अहिले उनी आर्मीका जागिरे नै हुन् ।
उनले २०७४ सालमा भएको राखेप च्यामिपयनसिपमा स्वर्ण पदक जिते । ०७४ सालमा नै भएको सातौं राष्ट्रिय खेलकुदमा उनले स्वर्ण जिते । त्यस्तै ०७५ को अन्त्यतिर नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेका थिए । चीनमा भएको १५ औं विश्व उसु च्याम्पियनसिपमा उनको प्रदर्शन सन्तोषजनक रहेको थियो । तर, १३ औं सागमा स्वर्ण पदक जित्ने लक्ष्य राखेका उनको त्यो सपना भने पूरा भएन । उनले अन्तिम ३० सेकेन्ड सम्हालिन नसक्दा अर्को चरण गुमाउन पुगेका थिए ।
हाल उनी लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा छन् । ९ सय खेलाडी रहेको उक्त व्यारेकमा अहिले उनीसहित ४० जना खेलाडी छन् । उनी लगनखेलमा नै अहिले सेल्फ प्रशिक्षणमा छन् । “धेरै जसो खेलाडी आफ्नो गण गएकाले म लगायत केही खेलाडीलाई एकेडेमी हेर्न यहाँ राखेको छ,” किरनले भने, “हामी उसुका चार जना खेलाडी छौं । हामी बिहान बेलुका सँगै प्रशिक्षण गरिरहेका छौं ।” उनले आफूहरू ब्यारेक भित्रै भएकाले त्यस्तो असहज स्थित नभएको बताए ।
नेपाली खेलकुद क्षेत्रमा सोचेभन्दा राम्रो नतिजा हाँसिल गरेका उनले आफ्नो पहिलो दक्षिण एसियाली खेलकुद साग मा नै पदक जित्न सफल भएका किरन साउद कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वार्ड नं १२ कालागौडीका स्थानिय हुन । हाल काठमाडौंमा डेरा गरेर बसेका छन काठमाडौंमा बसिरहेका कुनै मजदुरलाई समस्या परेको छ भने उनको मोबाइल नम्बरमा ९८४९९९५४४२ सम्पर्क गर्न सक्नु हुनेछ ।बाह्रखरीबाट सभार