हरिशचन्द्र बाग
कञ्चनपुर । कञ्चनपुरका सबै स्थानीय तहले आगमी वर्षको नीति, कार्यक्रम र बजेट ल्याएका छन् । केही स्थानीय तहको नीति , कार्यक्रम र बजेट बिहीबार पारित गरिएको छ । अन्यले नगर सभामा पेश गरी छलफल गरी पारित गर्ने भएका छन् ।

सबै स्थानीय तहले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिएर बजेट ल्याएका छन् । बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, कृष्णपुर नगरपालिका, वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले बिहीबार सभाको आयोजना गरी नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् ।

दोधारा चाँदनी नगरपालिकाले बुधबार तथा शुक्लाफाँटा नगरपालिकाले मंगलबार नगर सभा गरी नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका थिए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सबै स्थानीय तहहरूले कोभिड १९को महामारी रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि १ अर्ब ५९ करोड रुपैयाँ बराबरको बजेट नगर सभामा प्रस्तुत गरेको छ । बिहीबार आयोजित नवौँ नगर सभामा भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहले उक्त बजेट प्रस्तुत गरेकी छन् ।

सन्तुलित वातावरण, सुशासन सहितको समाजवाद उन्मुख नगर कृषि, पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार भन्ने नारा सहित आगामी नीति तथा कार्यक्रम र बजेट नगर सभामा प्रस्तुत गरिएको हो ।

बेलडाँडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि गाउँ सभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । बिहीबार बेलडाँडी गाउँपालिकाको नवौँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्कीले प्रस्तुत गर्नुभएको ३८ करोड ९१ लाख बराबरको बजेट पारित गरिएको छ ।

त्यस्तै, आगामी आर्थिक वर्षका लागि सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम समेत पारित भएको बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले बताए । बेलडाँडी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाले आर्थिक क्षेत्र अन्तर्गत कृषि तथा पशुपालन, उद्योग तथा वाणिज्य, पर्यटन, संस्कृति, सहकारी एवं वित्तीय क्षेत्रलाई व्यवस्थित गरिने जनाएको छ ।

त्यस्तै, सामाजिक क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, खेलकुद, सामाजिक सुरक्षा, स्थानीय अदालत÷न्यायिक समिति÷मेलमिलाप, घरजग्गा धनी पुर्जा वितरण तथा भू उपयोग नीति, ज्येष्ठ नागरिक र अशक्त वृत्ति, बेरोजगार समाधान, स्थानीय कर तथा स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन कार्यलाई केन्द्रित गरी नीति तथा कार्यक्रम ल्याएको छ ।

बेलडाँडी गाउँपालिकाले पूर्वाधार क्षेत्र अन्तर्गत सडक, सिँचाई, भवन तथा सहरी विकास र सञ्चारलाई महत्त्वका साथ नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

त्यस्तै वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत वन तथा भू–संरक्षण, जलवायु परिवर्तन, जल उत्पन्न प्रकोप नियन्त्रण, विपद् व्यवस्थापन, नागरिक सुशासन तथा भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकासलाई समेत समावेश गरेको छ ।

संस्थागत विकास सेवा प्रवाह र सुशासन अन्तर्गत मानव संसाधन विकास र सूचना प्रविधिलाई व्यवस्थित गरिने बताइएको छ । गाउँपालिकाले वित्तीय व्यवस्थापन र सुशासन अन्तर्गत लेखांकन वित्तीय परिचालन, तथ्याङ्क सङ्कलन र वित्तीय जोखिम र आन्तरिक लेखा परीक्षण कार्यमा विशेष जोड दिएको छ ।

लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

बिहीबार आयोजित नवौँ गाउँ सभामा प्रस्तुत गरिएको कुल ४७ करोड ५० लाख एक हजार ५ सय बराबरको बजेट पारित भएको लालझाडी गाउँपालिकाका उपाध्यक्ष सत्यदेवी महराले बताउनु भयो । त्यस्तै, सोही नगर सभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम समेत पारित भएको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताए ।

लालझाडी गाउँपालिकाले आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि, पशुपालन, सिँचाई, खाद्य तथा पोषण, वन तथा वातावरण र उद्योग, वाणिज्य तथा आपूर्ति जस्ता क्षेत्रहरू समेटेको छ ।

त्यस्तै, सामाजिक विकास क्षेत्र अन्तर्गत जनसङ्ख्या व्यवस्थापन, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ, महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवा, खेलकुद, सामाजिक सुरक्षा, असहाय र अपाङ्गता भएका व्यक्तिहरूको समग्र विकास सुनिश्चित गर्ने योजनाहरू नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

गाउँपालिकाले पूर्वाधार क्षेत्र अन्तर्गत तथ्याङ्क प्रणाली, योजना तर्जुमा, आयोजना बैङ्क, संस्थागत तथा कार्यान्वयन व्यवस्था तहगत सम्बन्ध तथा अन्तर सरकार समन्वय, जोखिम व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन विषयसँग सम्बन्धित योजनाहरू प्रस्तुत गरिएका छन् ।

त्यस्तै, संस्थागत विकास तथा सुशासनका क्षेत्रहरू अन्तर्गत पालिका एकता, सुरक्षा, शान्ति र सुव्यवस्था, नेतृत्व निर्माण, निर्वाचन प्रणालीमा सुधार, मानव अधिकार, न्याय प्रणाली, स्थानीय तहको सन्तुलित विकास, शासकीय सुधार, प्रशासकीय सुधार, वित्तीय सुधार, भ्रष्टाचार निवारण र मानव बेचबिखन तथा ओसारपसारको अन्त्य जस्ता विषयका योजनाहरू समेटिएको बताइएको छ ।

अन्तर सम्बन्धित क्षेत्र अन्तर्गत गरिबी निवारण, श्रम तथा रोजगारी, मानव संसाधन विकास, उद्यमशीलता विकास, समानता, समावेशीकरण, सामाजिक सुधार, सामाजिक, सांस्कृतिक विविधता, विपद् व्यवस्थापन, वातावरण, जलवायु परिवर्तन, सामुदायिक साझेदारी र गैर सरकारी संघसंस्थाहरुसँग सम्बन्धित विषयहरू समेटिएका छन् ।

योजना तर्जुमा कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कनलाई समेत गाउँपालिकाले प्राथमिकतामा राखेको छ । त्यस्तै, महामारी नियन्त्रण तथा प्रकोप व्यवस्थापन अन्तर्गत कोभिड १९ को सङ्क्रमण नियन्त्रण कार्यक्रम, जनस्वास्थ्य चुनौती सम्बोधन कार्यक्रम र सुरक्षित स्वास्थ्य शिक्षा कार्यक्रमलाई समेत निरन्तरता दिइने लालझाडी गाउँपालिकाले जनाएको छ ।

बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बिहीबार आयोजित सातौँ नगर सभामा आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताए ।

बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि जम्मा ८१ करोड ७० लाख ३२ हजार बराबरको बजेट सभामा प्रस्तुत गरिएको नगर उपप्रमुख चित्र कुमारी चौधरीले जानकारी दिइन् ।

नगर सभामा प्रस्तुत गरिएको बजेटमाथि सभाका सदस्यहरूबिच वृहत् छलफल गरी बिहीबार नै पारित भइसकेको उपप्रमुख चौधरीले जानकारी दिएकी छन् ।

बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणको कार्य पहिलो प्राथमिकतामा पारिएको छ ।

नगरपालिकाले आर्थिक क्षेत्र अन्तर्गत कृषि तथा पशुपालन, पर्यटन, सहकारी एवं वित्तीय व्यवस्थापन क्षेत्र, उद्योग तथा अन्य सीपमूलक तथा आयमूलक कार्यक्रमहरूलाई व्यवस्थित गरिने जनाएको छ ।

त्यस्तै, सामाजिक क्षेत्र अन्तर्गत शिक्षा तथा खेलकुद, आधारभूत स्वास्थ्य र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई केन्द्रित गरेको छ ।

बेलौरी नगरपालिकाले पूर्वाधार क्षेत्र अन्तर्गत भौतिक पूर्वाधार विकास तथा सडक संरचना, घरजग्गा धनी पुर्जा वितरण तथा भू उपयोग नीति, खानेपानी, ऊर्जा र वैकल्पिक ऊर्जा, सार्वजनिक सरसफाइ, सूचना तथा सञ्चार, नगर स्तरीय गौरवका आयोजना तथा परियोजनाहरूलाई महत्त्वका साथ समावेश गरेको छ ।

त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन, रोजगार कार्यक्रम सम्बन्धी नीति तथा कार्यक्रमलाई समेत समावेश गरेको छ ।

पुनर्वास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल ६९ करोड २९ लाख १ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । बिहीबार पुनर्वास नगरपालिकाको सभा हलमा आयोजित नवौँ नगर सभामा नगर उपप्रमुख शारदा शर्मा बिष्टले बजेट प्रस्तुत गरेका छन् ।

विनियोजित बजेट माथि बिहीबार सामान्य छलफल भएको छ भने यसपछि केही दिन विषयगत रूपमा छलफल गरी पारित गरिने नगर उपप्रमुख बिष्टले बताइन् । आर्थिक वर्ष २०७८।०७९ का लागि तयार गरिएको नीति तथा कार्यक्रम नगर प्रमुख जीवनराज थापाले सार्वजनिक गरेको छ ।

पुनर्वास नगरपालिकाले समेत कोभिडको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यस्तै, आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकास र विधेयक क्षेत्रसँग सम्बन्धित नीतिहरूलाई महत्त्व दिएको नगरपालिकाले जनाएको छ ।

कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि ९२ करोड ५६ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट नगर सभामा प्रस्तुत गरेको छ । बिहीबार आयोजित कृष्णपुर नगरपालिकाको नवौँ नगर सभामा नगर उपप्रमुख रमिता राना बडायकले बजेट प्रस्तुत गरेकी छन् ।

आगामी आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम र बजेटमा कृष्णपुर नगरपालिकाले समेत कोभिड महामारी रोकथाम तथा नियन्त्रण कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखिएको नगर प्रमुख कर्ण बहादुर हमालले बताए । अन्य विकास निर्माण सहित जनजीविकासँग जोडिएका विषयमा समेत नीति तथा कार्यक्रम र बजेट केन्द्रित रहेको उनको भनाइ छ ।

वेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि ८३ करोड ९२ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । बिहीबार आयोजित नवौँ नगर सभामा वेदकोट नगरपालिकाका उपप्रमुख सुशीला सिंहले बजेट प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्षका लागि नगर प्रमुख अशोक कुमार चन्दले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट बिहीबार नै पारित भइसकेको बताइएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोभिड महामारी रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखिएको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताए ।

दोधारा चाँदनी नगरपालिकाद्वारा नगर सभामा प्रस्तुत ६२ करोड १५ लाख १३ हजार बराबरको बजेट पारित गरिएको छ ।धबार सम्पन्न दोधाराचाँदनी नगरपालिकाको सातौँ नगर सभाबाट आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरिएको नगर उपप्रमुख चिनी गिरीले जानकारी दिइन् ।

दोधारा चाँदनी नगरपालिकाले पनि अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोभिड नियन्त्रण तथा रोकथामका कार्यक्रमलाई प्राथमिकतामा राखेको नगर प्रमुख बीर बहादुर सुनारले बताए ।

शुक्लाफाँटा नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि ७१ करोड ४८ लाख ३ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । बुधबार आयोजित नवौँ नगर सभामा आगामी आर्थिक वर्ष २०७८।०७९का लागि कुल ७१ करोड ४८ लाख ३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको नगर उपप्रमुख तुलसी देवी हमालले बताइन् ।

शुक्लाफाँटा नगरपालिकाले कोभिड नियन्त्रणसँगै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद तथा भौतिक पूर्वाधार विकासका योजनाहरूलाई प्राथमिकतामा राखेको नगर प्रमुख दिल बहादुर ऐरले बताए ।

प्रतिक्रिया दिनुस