बैतडीमा अस्पताल भर्ना हुने कोरोना संक्रमितको सख्या शून्यमा झरेको छ । जिल्लाका कुनै पनि स्वास्थ्यसंस्थाहरुमा कोरोनाका बिरामी भर्ना भएका छैनन् । गत सोमबारबाट जिल्ला अस्पतालमा पनि कोरोनाका बिरामी नरहेका अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । अहिले कोरोनाको संक्रमण दर जिल्लामा धेरै कम भएको उनले बताए ।

परीक्षण गरिएकामध्ये पनि थोरैमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले बैतडीमा कोरोनाको संक्रमण दर १ दशमलव ४ प्रतिशत मात्र रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, ‘अघिल्लो हप्ता ४ प्रतिशतमा रहेको संक्रमण दर अहिले झरेको छ । त्यसअघि उक्त दर ११ प्रतिशतसम्म रहेको थियो ।’ पछिल्ला ७ दिनमा १६ सय ६३ जनाको कोरोना परीक्षण गरिएकोमा २४ जनालाई मात्र संक्रमण देखिएको उनले बताए । पछिल्लो समय संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु होम आइसोलेसनमै रहेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै जिल्ला कोरोना व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले असार १६ गतेबाट जिल्लामा लकडाउन खोल्ने निर्णय गरेको छ। सवारीसाधनहरु पनि जिल्ला भित्र खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए। ‘चालकहरुको कोरोना परीक्षण गरेर सवारी साधन सञ्चालनमा ल्याइनेछ,’ उनले भने, ‘पसलहरु पनि बिहानदेखि साँझ ७ बजेसम्म खोल्न दिइनेछ । होटल, रेस्टुरेन्टले भने टेक अवे र होम डेलीभरी सेवामात्र प्रदान गर्न पाउनेछन् ।’जिल्ला प्रशासन कार्यालय, मालपोतलगायतका सरकारी कार्यालयको सेवा प्रवाह पालिका अनुसार फरक–फरक दिन दिने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुस