सांसद पदबाट राजीनामा दिएकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेकपा एमालेका उपाध्यक्ष भीम रावलको प्रशंसा गरेका छन्। प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएर रावलले उच्च राजनीतिक संस्कार र नैतिकता प्रदर्शन गरेको थापाले उल्लेख गरेका छन्। साथै आगामी राजनीतिक यात्राका लागि उनले शुभकामना समेत दिएका छन्।

‘विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजीनामा दिएर भीम रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ,‘ अध्यक्ष थापाले आइतबार अपराह्न सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा. रावलको अडान प्रशंसनीय रहेको छ। राजनीतिको शुद्धीकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना।’ प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने दिन आइतबार पूर्वगृहमन्त्रीसमेत रहेका रावलले ‘जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा राजीनामा दिनु श्रेयस्कर’ भन्दै सांसद पदबाट राजीनामा दिएका हुन्।

प्रतिक्रिया दिनुस